लन्डन । धादिङ नुवाकोट समाज यूकेको १६ औं वार्षिक भेला भव्य भएको छ । बेलायतमा बसोबास गर्दै आएका धादिङ र नुवाकोटवासी नेपालीहरुको संस्था धादिङ नुवाकोट समाज यूकेले शनिबार फुटबल प्रतियोगितासहित समर भेटघाट कार्यक्रम गरेको हो ।
समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा पूर्व मेयर तथा काउन्सिलर विष्णुबहादुर गुरुङ प्रमुख अतिथी थिए । प्रमुख अतिथी गुरुङ र अध्यक्ष तामाङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । दुवै देशको राष्ट्रियगानसहित सुरु गरिएको कार्यक्रममा कल्चरल सेक्रेटरी कृष्ण पाख्रिनले राष्ट्रिय भावको गीत गएर मनोरन्जन दिलाएका थिए ।
कार्यक्रममा उच्चशिक्षा हासिल गरेका विद्यार्थी, समाजका आजीवन सदस्यहरु, नेपालबाट आएका राष्ट्रिय कलाकार तथा विजेता फुटबल खेलाडीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रमुख अतिथी विष्णु गुरुङले पनि समाजको सदस्यता लिएका थिए । सुरुमा आसन, भाषण र सम्मानपछि दोश्रो चरणमा राष्ट्रिय कलाकारहरु बिन्दा परियार र मनमाया वाइबाको सांगीतिक प्रस्तुति एवं छुल्ठीम डोल्मा गुरुङको नृत्यमा सहभागी मज्जाले झुमे ।
विगत १६ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको उक्त कार्यक्रममा यसपटक नेपालबाट आएका लोकदोहोरी गायिका मनमाया वाइवा, अभिनेत्री छुल्ठीम डोल्मा गुरुङ, बिन्दा परियारलगायत स्थानीय कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए ।
इन्द्रेणी कार्यक्रममार्फत लोकप्रिय बनेकी मनमाया रेसुंगा दोहोरीकी संचालक हुन् । छुल्ठीम फिल्म निर्मात्री पनि हुन् । यस्तै बिन्दा काठमाडौं ठमेलमा गामबेसी दोहोरी साँझमा कार्यरत छिन्।
प्रमुख अतिथी विष्णु गुरुङले धादिङ नुवाकोट समाजलाई कार्यक्रमको सफलता र निरन्तरताको शुभकामना दिएका थिए । काउन्सिलबाट प्राप्त गर्न सकिने विभिन्न किसिमका सुविधाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
अध्यक्ष धनबहादुर तामाङले कार्यक्रमका सहभागी, प्रायोजक, कलाकार, खेलाडी लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यसमितिसहित सबैलाई धन्यवाद दिएका थिए ।
समाजका महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष मोतिमान बज्राचार्यले स्वागत मन्तव्य र पूर्व अध्यक्ष एवम् सल्लाहकार तुलबहादुर तामाङले हेल्थ एण्ड सेफ्टी बारेमा जानकारी गराएका थिए ।

भेट्रान खेलाडीसहित ६ टिम सहभागी उक्त प्रतियोगितामा धनगरचोक टाइगर्स तृतीय भइ ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गरयो ।
विजेता टिमलाई धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए । युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने लक्ष्यसहित फुटबल प्रतियोगिता शुरु गरिएको अध्यक्ष तामाङले बताए ।
बिहान फुटबल प्रतियोगिता गरिएपछि सांझ नेपालका राष्ट्रिय कलाकारका साथ सोही कलेजको हलमा सांस्कृतिक कार्यक्रम गरियो ।लन्डन फेल्थमस्थित कम्युनिटी कलेज हलमा सांस्कृतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रममा बेलायतको नेपाली समाजका लव्ध प्रतिष्ठित व्यक्तिसहित धादिङ र नुवाकोटवासी ४ सय जना सहभागी थिए । 
















