शेर सुनार उत्रिए १५ बुँदे प्रतिबद्धतासहित एनआरएन यूकको चुनावी मैदानमा

लण्डन । एनआरएन यूकेको आसन्न निर्वाचनमा वर्तमान कार्यसमितिका उपाध्यक्ष शेरबहादुर सुनारले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । आइतबार अल्डरसटमा घोषणासभा आयोजना गरी सुनारले आफ्नो उम्मेदवारी औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । सयौं सहभागीहरुमाझ आफ्नी आमाको आशिर्वाद लिंदै उम्मेदवारी घोषणा गरेका सुनारले एनआरएन यूकेको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय एनसिसीका रुपमा अघि बढाउने प्रतिबद्धता गरेका छन् ।
मलाई एकपटक अवसर दिनुहोस, तपाईंहरुको सहयोगको मैले उच्च कदरसहित काम गर्नेछु । तपाईंहरुले मलाई दिएको भोट खेर जान दिनेछैन, आफ्नो उम्मेदवारीमा सहयोगका लागि अपील गर्दै सुनारले भने । सुनारका १५ बुंदे प्रतिबद्धतामा मुख्यगरी गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता, भूतपूर्व गोर्खाहरुको समस्या, एनआरएन यूकेको सदस्यता बिस्तार, नेपाल हाउस भवन निर्माण, संस्थाको आर्थिक पारदर्शिता, आपतकालीन राहत कोष लगायतका एजेण्डाहरु समावेश छन् ।
कर्मा पहाडी शेर्पाले सन्चालन गरेको घोषणासभामा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले सुनारलाई शुभकामना दिएका थिए । उक्त घोषणासभामा सुनार निर्वाचन तयारी समितिका प्रमुख संयोजक बोहत गुरुङ, विश्वआदर्श पण्डित, पूर्व अञ्चलाधिस उत्तर टमाटा,बुद्धिजीवी शिवजी श्रेष्ठ, सभासद बिजुला बर्मा, एनआरएनए यूके महासचिव आरके त्रिपाठी, काउन्सिलर प्रवेस केसी, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ र पूर्व अध्यक्ष ज्ञाम गुरुङ, जनसम्पर्क समिति यूके सभापति युवराज गुरुङ, पत्रकार चिरन शर्मा, तमु प्ये ल्हु संघ यूके उपाध्यक्ष रणबहादुर गुरुङ, किरांत राई यायोक्खा यूके सल्लाहकार रत्न राई,  महेश दाहाल, जीव बेल्वासे, मिडल्याण्डबाट,रण केशी दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर ढकाल, गोमा पौडेल र सशांक शर्मा लगायतले शुभकामना दिएका थिए ।
एनआरएन यूकेको अघिल्लो कार्यसमितिमा उपाध्यक्ष निर्वाचित सुनारले त्यसअघि बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा काम गरेका थिए । सिर्जनशिल नेपाली समाज यूके र गोर्खाज इन्टेक १९८५ का संस्थापक अध्यक्ष उनले अरु आधा दर्जन बढि संस्थामा महत्वपुर्ण जिम्मेवारी वहन गरिसकेका छन् । बेलायती सेनामा १८ वर्षको सेवाबाट अवकाश लिइसकेपछि बेलायतमा बस्दै आएका उनी एनआरएन यूकेमा स्थापनाकालदेखि नै आबद्ध रहंदै आएका छन् ।
सुनारका १५ बुंदे प्रतिबद्धता जस्ताको तस्तै
१) संस्थाको उद्देश्य प्राप्तिका लागि संरक्षक तथा पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारहज्यूरु, बेलायतस्थित नेपाली संघसंस्थाहरु र आम बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीको राय, सल्लाह र सुझावलाई हृदयगमन गरी संस्थाको कार्यक्रम र अभियानलाई पूर्ण सफल बनाउनुनै मेरो पहिलो प्राथमिकता हुनेछ ।
२) नागरिकताको अभियानलाई निरन्तरता दिनेछु । नेपालको संविधान २०७२ को भाग (२) दफा १४ मा ‘संघीय कानू बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ’ भनेर उल्लेख गरिएको छ । ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल अवधारणालाई लिएर आईसीसीसंग समन्वय गरी दोहोरो नागरिकताका लागि आवश्यक पहल गर्ने छु ।
३) भूतपूर्व गोर्खाजहरुको मुद्दा अहिलेसम्म टुंगिएको छैन । भूपू गोर्खाजहरुका हकहित संरक्षणार्थ स्थापना भएका संघसंस्थाहरुसंग समन्वय गरी उनीहरुको आवाजलाई सम्बन्धित निकाय सम्म पु¥याउन आवश्यक पहल गर्नेछु । साथै, भूतपूर्व गोर्खाजहरुको अवस्था जानकारी गराउने उद्देश्यका साथ नेपालका मिडियाहरुले आयोजना गरेको कार्यक्रममा मेरै संयोजकत्वमा भूतपूर्व गोर्खाजहरुलाई भेला गराउन बिशेष भूमिका खेलेको थिएँ । साथै, अंग्रेजी नजान्ने वृद्धवृद्धा बुबाआमाहरुलाई ‘लाईफ ईन युके’ अर्थात बेलायतको जनजीवन बारे आवश्यक जानकारी गराउन बिशेष कार्यक्रम ल्याउन प्रयन्त गर्नेछु । त्यसैगरी नजिकका आफन्त नभएका वृद्धवृद्धा बुबाआमाहरुलाई आपतविपत परेको अवस्थामा मेरो कार्यसमितिले पहिलो प्राथमिकता दिने छ ।
४) बेलायतमा हाम्रो परिचय विस्तारै हराउदै गएको अवस्था छ । यहाँको सरकारी कार्यालयमा आपू कुन देशबाट आएको हो भन्ने बारे जानकारी गराउनु पर्दा अन्य एशियन को रुपमा आफुलाई परिचित गर्नुपर्ने अवस्था छ । र, सन् २०२१ मा बेलायतमा जनगणना हुदैछ । साथै, सो जनगणनामा नेपालीहरुको परिचय खुल्ने गरी ‘नेपाली’ कायम गराउन केही कामहरु भएको जानकारी गराउदै परिणाममुखी बनाउन आवश्यक कदम चाल्ने छु ।
५) नेपाल सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउदै छ । र, नेपालमा पर्यटन भित्र्याउने हाम्रो पनि कर्तव्य हो । त्यसैकुरालाई हृदयगमन गर्दै स्थानीय अंग्रेजी समुदायभित्र नेपालको मनोरम दृश्य, प्राकृतिक सौन्दर्य, सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्ध लगायतको बिषयमा सक्दो जानकारी गराई विदेशी पर्यटक नेपाल भित्राउन हरसंभव प्रयत्न गर्नेछु । साथै, एक परिवार एक पर्यटक अभियान चलाउने छु ।
६) कुनै पनि संस्थालाई सुचारु रुपमा संचालन गर्नका लागि आर्थिक पक्षले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले मैले एनआरएनए युकेको आम्दानी वा खर्च दुवैलाई पारदर्शी ढंगले व्यवस्थित रुपमा राख्ने छु ।
७) बेलायतमा करीब १ लाख भन्दा बढी नेपाली रहेको विश्वास गरिन्छ । तर, एनआरएनए युकेको सदस्यता लिने व्यक्ति भने ४÷५ हजार भन्दा बढी छैनन् । त्यसमा पनि निर्वाचनको अवस्थामा उम्मेदवारको अनुरोधमा मात्र सदस्यता बन्ने र बनाउने प्रचलन बढ्दै आएको छ । यसबारे आवश्यक अध्ययन गरी बेलायतवासी सबै नेपालीहरुले स्वतस्पुर्थ रुपमा सदस्यता बन्ने वातावरण ल्याउने पूरा प्रयास गर्नेछु ।
८) नेपाल हाउस अर्थात एनआरएन भवन बेलायतवासी नेपालीहरुको सपना हो । तत्कालिन एनआरएनए युके अध्यक्ष मुछेत्र गुरुङले यस अभियानको शुरुवात गरेको भएता पनि नेपाल हाउस वर्तमान कार्यसमितिको प्राथमिकता भित्र पर्न सकेन । हुन त यो परियोजनालाई सार्थक तुल्याउन त्यति सहज भने छैन । तर पनि यस दीर्घकालिन सपनालाई मेरो कार्यकालमा उच्च प्राथमिकता दिने छु ।
९) हामी एनआरएनहरु धेरैजसो मातृभूमि नेपालतर्फ मात्र केन्द्रित भैदिंदा बेलायतमा बसोबास गर्ने नेपालीहरुले भोग्दै आएका सामाजिक तथा आर्थिक समस्याहरु केलाउनेतर्फ त्यति ध्यान दिन पाएका छैनौं । यहाँ बसोबास गर्ने नेपालीहरुको समस्या समाधान तर्फ समेत आवश्यक ध्यान दिने छु । १०) अध्ययन, व्यापार वा कामको सिलशिलामा बेलायत आएका नेपालीहरु लगायत भूतपूर्व गोर्खा वृद्धवृद्धा बुबाआमाले भोग्दै आएका विभिन्न समस्याहरुको सही समाधानका लागि आवश्यक सल्लाह र सुझाव दिनका लागि एक ‘हेल्प डेक्स’ स्थापना गर्ने छु ।
११) बेलायतमा थुप्रै सफल नेपाली उद्यमी तथा व्यापारीहरु छन् । उद्योग तथा व्यापार गर्न ईच्छुक यहाँका नेपालीहरुलाई आवश्यक सल्लाह तथा सुझावका लागि उनीहरुसंग समन्वय गराउन पूर्ण रुपले प्रयत्न गर्नेछु । र, बेलायतमा बढीभन्दा बढी सफल उद्यमी तथा व्यापारी उत्पादन गराउन भूमिका खेल्ने छु ।
१२) बेलायतस्थित नेपाली राजदूतावास लगायत बेलायतमा रहेका नेपाली संघसंस्थाहरु संग समन्वय गरी नेपाल र नेपालीको हितका लागि काम गर्ने छु ।
१३) नेपालीको पहिचान भनेकै नेपाली भाषा, कला र संस्कृति हो । यसको संरक्षण र सम्वद्र्धन गर्दै दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो दायित्व पनि हो । यसै कुरालाई हृदयगमन गर्दै दोस्रो पुस्ताका युथहरुबीच नयाँ थप कार्यक्रमहरु ल्याई नेपालीपन बचाइराख्न आवश्यक पहल गर्ने छु । त्यस्तै, हाम्रा साना बालबालिकाहरुलाई विभिन्न खेलको प्रशिक्षण दिलाउने तर्फ आवश्यक पहल गर्दछु ।
१४) आपतकालिन अवस्थामा प्रयोग गर्दै आएको आपतकालिन अक्षय कोष वृद्धिका लागि आवश्यक कार्यक्रम सहित च्यारिटी कार्यक्रमहरुको आयोजना गर्ने छु । १५) बेलायतवासी युथहरुलाई अझ सफल, सवल र अनुभवि बनाउन विभिन्न बिषय र क्षेत्रमा विज्ञता हासील गरेका बेलायतस्थित नेपाली विज्ञहरुसंग समन्वय गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । धन्यवाद ।
भवदिय, शेर बहादुर सुनार अध्यक्ष पदको उम्मेदवार, एनआरएनए युके (२०१९–२०२१) ७ जुलाई २०१९ अल्डरसट, युके

Leave a Reply

Your email address will not be published. Required fields are marked *