काठमाडौं– गृहमन्त्री विमलेन्द्र निधिले नवराज सिलवाललाई उपेन्द्रकान्त अर्यालको अवकाशपछि प्रहरी महानिरीक्षक बनाउनुपर्ने अडान राख्दै आएका थिए । रोलक्रमले एक नम्बरमा रहेको र कार्यक्षमता तथा योग्यताका दृष्टिले पनि सिलवाललाई आइजीपी बनाउन उपयुक्त हुने भन्दै प्रधानमनत्री प्रचण्डलाई पनि उनले सहमत गराएका थिए ।
तर, निधिको कुरामा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहमत भएनन् । कसैले सिलवाललाई एमाले समर्थक भएको र सिलवाललाई आइजीपी बनाउने सर्तमा कोही व्यापारीबाट निधिले दश करोड रुपैयाँ बुझिसकेको भन्ने सूचना प्राप्त गरेकाले देउवा निधिको प्रस्तावमा सहमत भएनन् ।
देउवा सजिलै सहमत हुने नदेखेपछि निधिले सिलवाललाई नियुक्त गर्न नसके आफूले र्गहमन्त्री पदबाट राजीनामा दिने चेतावनी पनि देउवालाई दिएका थिए । तर त्यसले पनि देउवालाई असर गरेन । बरु राजीनामा स्वीकार गर्न देउवा तयार भए । देउवा असहमत हुँदा पनि निधि पनि आफ्नो अडानबाट पछि हटेनन् । प्रधानमन्त्रीमाथि सिलवाललाई नियुक्त गर्न दवाव दिइरहे ।
प्रधानमन्त्रीले देउवासँग भने ‘गृहमन्त्रीले सिलवालको नाम लिइरहेका छन्, तपाईंको पनि सहमति होला भन्ने ठानेको थिएँ” भन्ने प्रतिक्रिया व्यक्त गर्दा देउवाले झोक्किएर भने, “म निधिलाई हटाइदिन्छु तपाईंले जबरजस्ती गर्नुभयो भने हामी सरकारबाट नै फिर्ता हुन्छौं ।’
सिलवालालई नियुक्त गर्दा गठबन्धन नै टुट्ने देखेपछि प्रधानमन्त्रीले चन्दलाई नियुक्त गर्ने निर्णग गरेका थिए ।






