लण्डन । नेपालको राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवसको अवसरमा लण्डन स्थित नेपाली राजदूतावासले शुक्रवार देखी आइतवार सम्म गते त्रिदिवसीय कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । कार्यक्रमको पहिलो दिन असोज २ गते नेपाली राजदूतावास र युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपालका उपाध्यक्ष तथा युके नेपाल ट्रेड एण्ड इनभेष्टमेन्ट फोरमका अध्यक्ष लर्ड शेख, फोरमकै उपाध्यक्ष तथा कन्फीडिरेशन अफ ब्रिटिश इन्डस्ट्री सिबिआईका अध्यक्ष लर्ड बिलिमोरिया सिबिई डिएल, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए । राजदूत डा. सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन युके नेपाल ट्रेड एण्ड इनभेष्टमेन्ट फोरमका महासचिब तथा डिएमएका प्रमुख कार्यकारी अटम सन्धुले गरेका थिए । उक्त अवसरमा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुको बारेमा जानकारी दिंदै व्यापार तथा लगानी प्रवद्र्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरेका थिए । सोही दिन बेलायतमा रहेका वरिष्ठ कलाकार पिंकी सिंहका नेपालका आकर्षक पर्यटकीय स्थलहरु एवं नेपालको मौलिक कला संस्कृति झल्काउने ३० वटा उत्कृष्ट कलाकृत्तिहरु समाविष्ट ‘नेपाल यात्रा २०२०’ विषयक नेपाली कला प्रदर्शनीको राजदूतबाट उद्घाटन गरिएको छ । उक्त सप्ताहव्यापी नेपाली कला प्रदर्शनी आश्विन ८ गतेसम्म जारी रहने दूतावासले जनाएको छ ।
राष्ट्रिय दिवसको अवसरमा आश्विन ३ गते अर्थात शनिवार राजदूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली संगीत महोत्सवको आयोजना गरिएको थियो । राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा राष्ट्रिय झण्डाको झण्डोत्तोलन पश्चात् अतिथिहरुलाई स्वागत गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबासी समस्त नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको सुख, सुस्वास्थ्य र समृद्दिको कामना गरेका थिए । उक्त अवसरमा राजदूतले राष्ट्रपति एवं प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देशहरु प्रस्तुत गरेका थिए ।
दिवसको अवसरमा आयोजित नेपाली संगीत महोत्सवमा बेलायतमा रहेर नेपाली गीत र संगीतको संरक्षण र संवद्र्धनमा समर्पित विशिष्ट नेपाली गायक गायिकाहरुको सांगितिक प्रस्तुति रहेको थियो। समारोहमा राजदूत डा. सुवेदीले बेलायतका नौ जना लोकप्रिय गायक गायिकाहरुको स्वर रहेको चार वटा गिती एल्बमहरु (सम्झनाको सिमसिमे झरी, मायावी परेलीहरु, तिम्रो तस्वीर आँखाभरि, दुबोसरी रहरहरु) को लोकार्पण समेत गरे । सोही समारोहमा राजदूत डा. सुवेदीले नेपालको सांग्रिला बुक्सद्वारा प्रकाशित बेलायतका ७७ जना प्रतिनिधि नेपाली कथाकारहरुका कथा संकलित ‘बेलायतमा नेपाली कथा’ नामक प्रतिनिधि कथा संग्रहको लोकार्पण गरे । त्यसैगरी तेश्रो दिन यस राजदूतावासले नेपाल – आयरल्याण्ड सोसाइटी तथा आयरल्याण्ड– नेपाल च्याम्बर अफ कमर्श सँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको छ ।
उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीहरुबारे वृहत् अन्तरक्रिया गरिएको थियो । आयरल्याण्डका लागि नेपाली राजदूत डा. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा नेपाल – आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, आयरल्याण्ड – नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष भिन्सेन्ट बेरी, र राष्ट्रिय वीमा संस्थानका अध्यक्ष गंगाराम कंडेलसहित डा. जेन फेन्लन, अलन मेर्सल, सान्का, निल काभाँग, सारा वेस्ट, क्लान ओब्रोचेन, एलिसन इर्विन, लेन टेलरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर रोशन खनालले धन्यवाद मन्तब्य प्रस्तुत गरेका थिए ।
विक्रम सम्वत २०७२ आश्विन ३ गते साँझ ५ बजे पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए । संविधान जारी भएको दिनको खुशीयालीमा सरकारले राष्ट्रिय दिवस तथा संविधान दिवस मनाउँदै आएको छ भने उक्त दिन सार्वजनिक विदा समेत दिदै आएको छ।






