केपी ओलीको टिप्पणी: माओवादी समाप्त भयो, अब केन्द्र मात्रै बाँकी छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अब समाप्त भएर जाने चेतावनी दिनु भएको छ । अध्यक्ष ओलीले जीवनतत्व नरहेकाले माओवादी केन्द्र समाप्त हुने अवस्थामा पुगेको दावी समेत गर्नुभएको हो ।

माओवादी केन्द्रमा विचार, नीति, उद्देश्य, आर्दश र कार्यक्रम केही पनि नभएको उहाँको आरोप थियो । विहीबार पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा माओवादी केन्द्रका दर्जनौ कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि अध्यक्ष ओलीले माओवादी अव केन्द्रमात्रै रहेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले आसन्न निर्वाचनपछि माओवादी नामका पात पनि झरेर जाने व्यंग्य पनि गर्नुभयो । अध्यक्ष ओलीले स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी पनि गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले लिएको राष्ट्रवादी अडानबाट सत्तारुढ कांग्रेस र माओवादी केन्द्र अत्तालिएको आरोप पनि लगाउनु भयो । उहाँले शाह वंशीय राजा पृथ्वीनारायण शाह र महेन्द्र शाहले नेपालको राष्ट्रियताको पक्षमा लिएको अडानको खुलेर प्रशंशा पनि गर्नुभयो ।अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने सोच आफनो पार्टीसँग मात्रै रहेको दावी पनि गर्नु भयो ।