शिव भण्डारी
लन्डन । बेलायतको नेपाली समुदायमा अनवरत योगदान गर्ने तीन महिलाले बेलायती राजाको दर्शनभेट पाएका छन् ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, नेपलिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतम र एसोसिएनकी महासचिव सिर्जा महर्जनले राजा चार्ल्स तृतीयसंग दर्शनभेट गरेका हुन्।

दूतावासकी नियोग उपप्रमुख खनालले नेपालको प्रतिनिधित्व गर्दै राजाबाट दर्शनभेट मिलेकामा आफू गौरवान्वित भएको बताइन् ।
गत मंगलबार बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा उनीहरुसहित इन्टरनेशनल नर्सिङ एसोसिएसन आवद्ध विभिन्न देशका नर्सहरु उपस्थित थिए ।
दर्शनभेटका क्रममा आफूहरुहरुले राजालाई जन्मदिनको शुभकामना दिंदै राजालाई मायाको चिनो स्वरुप कलात्मक आंखी झ्याल प्रदान गरेको एसोसिएसन अध्यक्ष गौतमले लन्डन नेपाल न्यूजलाई जनाइन् ।
‘राजाले नेपाली भाषामा नमस्ते भनेर अभिवादन समेत गरिबक्सेको थियो’, सुनिताले भनिन् ।
एसोसिएसनले स्वास्थ्य सचेतना, शिविर, हरेक साता योगा, मासिक रुपमा लाइभ अन्तरक्रिया जस्ता क्रियाकलाप गर्दै आएको छ । नेपाली नर्सहरुलाई यहां विभिन्न सहयोग समेत गरिरहेको छ ।
एसोसिएसनले आउंदो २० जनवरीमा लन्डन ह्यारोस्थित ब्लु रुम रेष्टुरेन्टमा एक च्यारिटी डिनर गर्ने तयारी गरेको छ ।






