काठमाडौँ, १६ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ ।
ट्याक्सीले उपभोक्तालाई निरन्तर ठगिरहेको गुनासो आएपछि गत पुसदेखि विभागले हरेक ट्याक्सीमा अनिवार्य रुपमा प्रिन्टर मेसिन जडान गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार २०७४ साल साउनको पहिलो हप्तासम्म कामसक्ने गरी तीव्रगतिमा काम भइरहेको विभागकी प्रवक्ता रोमी मानन्धरले जानकारी दिनुभयो ।
“विभागले शुक्रबारसम्म तीन हजार ५०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको छ”–प्रवक्ता मानन्धरले भन्नुभयो । “विभागले हाल दैनिक ५० देखि १०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्दैआएको छ ।
ट्याक्सी सञ्चालकले प्रिन्टर मेसिन जडान गर्दा रु सात हजारदेखि रु नौ हजारसम्म खर्च लाग्ने गरेको छ । विभागले आम ट्याक्सी चालकलाई आफ्नो ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्न तथा बिल लिएर यात्रा गर्नका लागि जनचेतनामूलक कार्यक्रम समेत चलाएको छ ।






