सेचेनका खेन्पो टासी बेलायतमा

पूर्ण गुरुङ

लण्डन । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो टासी छिरिङ्ग लण्डन आइपुगेका छन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको निमन्त्रणामा सोमबार १७ अक्टोबरका दिउँसो बेलायत आएका हुन् । 

बीसीसी युके अध्यक्ष धर्म तामाङ, महासचिव क्याप्टेन देब घले, बीसीसी युके आमा सहकोषाध्यक्ष तुल्सी घले उनको स्वागतार्थ हिथ्रो एयरपोर्ट पुगेका थिए । 

त्यस्तै, बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन रिन्पोछे, खेन्पो केल्जङ्ग दोर्जी, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङ, बीसीसी युके आमा सहकोषाध्यक्ष तुल्सी घले, सल्लाहकार जंग बहादुर गुरुङलगायत गुम्बा परिवारले खादा लगाई अल्डरसटस्थित गुम्बामा स्वागत गरेका थिए । 

बौद्ध कला, संस्कार र शिक्षाबारे अध्यापन गराउँदै आएका खेन्पो टासीले बेलायत बसाईको क्रममा बौद्ध दर्शन, बौद्ध परम्परामा आधारित धार्मिक पुजापाठलगायत विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको बीसीसी युकेले जनाएको छ । 

यसअघि सन् २०१८ सालमा पनि बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका खेन्पो गुरुलाई भने औपचारिक रुपमा कार्यसमितिले आउने आइतबार गुम्बामा स्वागत गर्ने कार्यक्रम तय भएको बीसीसी युकेका महासचिव क्याप्टेन देब घलेले जानकारी दिएका छन् ।