वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन प्रयास गरिरहेको आरोप लगाएका छन् । बुधबार रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले कोरोना भाइरस(कोभिड–१९) को नियन्त्रणका लागि चालेका कदम त्यसको प्रमाण भएको पनि बताएका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘नोभेम्बरमा हुने चुनावमा मलाई रोक्नका लागि चीनले जे पनि गर्न सक्छ ।’
कोरोना भाइरसको वैश्विक महामारीका लागि ट्रम्पले चीनलाई लगातार दोष दिँदै आएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट करिब ६० हजारको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीका कारण अमेरिी अर्थतन्त्र पनि डामाडोल भएको छ । अमेरिकामा इतिहासमै सबैभन्दा बढी बेरोजगारी देखिएको छ ।
कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको र ढिलो कदम चालेको आरोप आफूमाथि लागिरहँदा ट्रम्पले भने चीनले पहिले सक्रियता देखाएको भए विश्वले यसको गम्भीरता बुझ्न सजिलो हुने बताएका छन् ।
कोरोना भाइरसको महामारीका बीच चीनमाथि भन्सार कर बढाउनुहुन्छ त भन्ने प्रश्नमा ट्रम्पले भने, ‘थुप्रै कुरा छन् जुन म गर्न सक्छु ।’
त्यस्तै ट्रम्पले चीनले आफूलाई हराएर डेमोक्रेटिक उम्मेदवारलाई जिताउन प्रयास गरिरहेको पनि आरोप लगाएका छन् । ‘के के हुन्छ म हेर्दैछु । चिनियाँ अधिकारीहरुको लगातार आफ्नो छवि सुधार्न प्रयास गरिरहेका छन् ताकि यस मामिला(कोरोना भाइरस) मा उनीहरु निदोर्ष देखिउन् । उनीहरु यसका लागि जनसम्पर्क(पीआर) बढाइरहेका छन् । राष्ट्रपतिको दौडमा मलाई रोक्नका लागि चीनले जे पनि गर्न सक्छ । चीन डेमोक्रेटिक पार्टीका जो बाइडन अमेरिकाको राष्ट्रपति बनून् भन्ने चाहन्छ,’ ट्रम्पले अन्तर्वार्ताका क्रममा भने ।
पछिल्लो समय कोरोना भाइरसको महामारीलाई लिएर चीन र अमेरिकाबीचमा वाकयुद्ध जारी छ । यसअघि ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनलगायत विभिन्न वैश्विक संगठनले पनि आपत्ति जनाएका थिए ।एजेन्सी






