काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतकालमा कार्यरत् मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भूर्तेलले गैरकानुनीरुपमा रु दुई करोड ६३ लाख ५२ हजार ६६८ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार डा. भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग असुलउपर गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिइ आफूलाई गैरकानुनीरुपमा फाइदा र अस्पताललाई हानी–नोक्सानी पुर्याएको पाइएकाले मुद्दा दायर गरिएको हो ।
डा. भूर्तेलले आफ्नै सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको शल्यक्रिया गर्दा गैरकानुनीरुपमा रकम असुल गरेकोलगायत कार्य गरी अकूत सम्पत्ति आर्जन गरी भरतपुर नगरपालिका–११ मा रु ६७ लाखमा बंगला खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।
गैरकानुनीरुपमा आर्जन गरेको रकमबाट काठमाडौंमासमेत बंगला बनाएको, नवलपरासीको गैंडाकोटमासमेत चलअचल सम्पत्ति जोडेको पाइएको दाबी आयोगले गरेको छ ।






