काठमाडौं– प्रमुख तीन राजनीतिक दल र सरकारसँगको छलफलपछि स्थानीय तहको पुनःसंरचनाका लागि सुझाव दिन गठित आयोगले पुनःसंरचना गर्दा इलाकालाई पनि आधार मान्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलका शीर्षनेता र आयोगका पदाधिकारीहरुको सोमबार सिंहदरबारमा राखेको बैठकमा स्थानीय तहको पुनःसंरचना गर्दा के के विषयलाई आधार मान्ने भन्ने विषयमा मतक्यैता कायम भएको छ ।
बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको पुनःसंरचना गर्दा इलाकालाई आधार मानेर जाने तीन पार्टीको सहमतिबारे आयोगका अध्यक्षलाई बोलाएर स्पष्ट पार्ने काम भएको बताए ।
एमाले उपाध्यक्ष भीम रावलले स्थानीय तहको पुनःसंरचनाका सम्बन्धमा यसअघि प्रमुख तीन दलबीच भएको सहमति र सरकारले गरेको निर्णयका सम्बन्धमा गहन छलफल भएको जानकारी दिए ।
आयोगका अध्यक्ष बालानन्द पौडेलले बैठकमा आयोगलाई प्राप्त भएको नयाँ मापदण्डका बारेमा छलफल भएको र इलाकालाई पनि एक आधार मान्ने बारेमा स्पष्टता भएको बताए । उनले सरकारका तर्फबाट कुनै बाध्यात्मक निर्देशन नरहेको दाबी गरे ।






