संकटका बीच कांग्रेसको १३औँ महाधिवेशन

नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनको मिति नजिकिदै जाँदा कांग्रेस वृत्तमा सरगर्मी बढ्न थालेको छ । अझ दोस्रो पुस्ताका केही नेताहरुले त सभापतिमा आफ्नो उम्मेदवारी घोषणा समेत गरिसकेका छन, भने केहीले पर्ख र हेर को सिद्धान्त अपनाएको देखिन्छ । २०६२ सालमा १२ बुँदे सम्झौता मार्फत  शान्ति प्रक्रियामा मुलुक प्रवेश गरेता पनि यसले अझै पूर्णता पाएको छैन् । गिरिजाप्रसाद कोइरालाको अवसान पछि मुलुकले सक्षम नेतृत्व प्राप्त गर्न नसकेको र सोही कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको राजनीति विश्लेषकहरुको बुझाई छ । त्यसैले पनि नेपाली कांग्रेसको आशन्न महाधिवेशनलाई देशी विदेशी शक्ति र नेपालका कांग्रेस बाहेकका हरुले पनि विशेष ध्यान पूर्वक हेरिरहेको प्रष्ट हुन्छ । नेतृत्व परिवर्तन मार्फत नयाँ आउने सभापतिको भूमिका के कस्तो हुनेछ र मुलुकलाई शान्ति र स्थायीत्व तर्फ लैजान उक्त नेतृत्व कत्तिको सक्षम हुनेछ भन्ने बुझाईमा मुलुक भित्र र बाहिरका शक्तिहरु चनाखो भइराखेको देखिन्छ । साच्चै भन्दा मुलुकले दोस्रो गिरिजाप्रसाद कोइरालाको अपेक्षा गरेको छ ।
विगतको गल्ती र कमजोरी:
नेपाली कांग्रेस यतिवेला अत्यन्तै संकटमा फसेको छ । बाहै महाधिवेशनलाई एकताको महाधिवेशन त भनियो तर व्यवहारमा त्यो देखिएन । नेपाली कांग्रेस र नेपाली कांग्रस (प्रजातान्त्रिक) बीच एकीकरण हुँदा बनेको ६० र ४० को भागवण्डाले झनै ठुलो रुप लिदै गएको छ । नेपाली कांग्रेस अहिले पनि दुई पार्टी जस्तो छ । ६० र ४० को भागवण्डाले आम इमान्दार र दुरदराजमा बस्ने कार्यकर्ताको शीर निहुरिएको छ ।
केन्द्रको भागवण्डाले पार्टीको हरेक तह र तप्काका कार्यकर्ताहरुको सही मूल्यांकन हुन सकेको छैन् । प्रजातन्त्रका लागि लडेका योद्धाहरुको उचीत सम्मान हुन सकेको छैन् । सशस्त्र द्धन्द्धमा तत्कालिन विद्रोही पक्ष र राज्य पक्षबाट मारिएका कांग्रेसी नेता तथा कार्यकर्ताहरुको परिवार अझै विचल्ली छ र उनीहरुको परिवारले दयनिय जिवन जिउन विवश छन भने घाइतेहरुको औषधी उपचारमा ध्यान दिन सकेका छैन् । कांग्रेस नेतृत्व आफ्ना कार्यकर्ताप्रति अत्यन्तै निर्दयी बन्यो भन्ने गुनासो व्यापक रुपमा उठन थालेको छ ।
संविधानसभाको चुनावमा टिकट वितरण गर्दा एकातिर ६० र ४० को केन्द्रियतामा बसेर टिकट वितरण गरियो भने अर्कोतिर पार्टीमा लागेर संघर्ष र त्याग गरेको कुरालाई एउटा कुनामा थन्क्याएर रकम बढावढमा टिकट वितरण गरियो । जसका कारण कांग्रेसका कर्मठ र इमान्दार कार्यकर्ताहरुले नेतृत्वप्रति वितृष्णा व्यक्त गरे । २०७० को संविधानसभाको टिकट वितरणका समयमा संसदीय बोर्ड आर्थिक मामलामा नराम्रोसंग फस्न पुग्यो ।
१२ औं महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु र पार्टीलाई सस्थागत ढंगले अगाडि बढाउछु भन्ने नारा बोकेर हिड्नुभएका सुशील कोइरालाको भनाई र गराईमा फरक देखियो । आफुले गरेका निर्णयमा अडिन नसक्दा र अडान राख्न नसक्दा आफैले गरेका हरेक निर्णयमा सुशील कोइराला फस्दै जानुभयो । जस्तै पार्टी सञ्चालनका कुरा, विभाग गठनका कुरा, केन्द्रिय समितिमा मनोनयनका कुरा, निर्वाचित भ्रातृसंस्थाका विघटनका कुरा, टिकट वितरण लगायतका कुरामा फस्दै जानुभएका कोइराला अन्तत मुलुक सञ्चालन गर्ने कुरामा पनि सहकर्मी मन्त्रीहरुका कारण आशातित सफलता प्राप्त गर्न सक्नुभएन ।
अर्कोतर्फ पार्टी सञ्चालनका निम्ती कांग्रेस पदाधिकारीहरुले उचित सहयोग नगरेकै कारण पनि सभापति सुशील कोइराला अफ्ठेरो परिस्थितिमा पुग्नु भएको हो भने पार्टीको एक हिस्सा बोकेर बसेका शेरबहादुर देउवा समूहको अर्घेल्याई र गणितिय भागवण्डाले पनि पार्टी सञ्चालनले गति लिन नसकेको कुरा कोही कसैबाट छिपेको छैन् । चुनाव जितेर पनि सभापतिको हैसियतले पूर्ण काम गर्न सुशील कोइरालाले सक्नुभएन । विगतका कमि कमजोरीलाई मात्र देखाएर बस्नु भन्दा अथवा एक समूहले अर्को समूहलाई दोष थोपरेर दोषी सावित गर्नुभन्दा अव नितान्त नयाँ शिरावाट सोच्ने समय आइसकेको छ । यदी आशन्न महाधिवेशनलाई नेता चयन अथवा नेतृत्व चयनलाई मात्रै प्रधानता दिने हो भने त्यो केवल एउटा औपचारिकता मात्रै हुनेछ । यदी नीति परिवर्तनलाई पनि संगसंगै बहसमा लैजाने हो भने मात्र यसले केही हदसम्म पार्टीलाई परम्परागत शैलीबाट अली माथि उठ्न सहयोग पुग्नेछ ।
सभापतिमा सबैको दाउ
१२ औं महाधिवेशनमा पराजित शेरबहादुर देउवा यो पटक जसरी पनि सभापति बन्ने अभियानमा जुटेका छन भने रामचन्द्र पौडेल आफु अव पर्खेर बस्न नसक्ने अवस्थामा पुगेका छन् । देउवाले आफु निकटलाई महाधिवेशनमा केन्द्रित हुन आन्तरिक सर्कुलर जारी गरिसकेका छन् । देउवा र पौडेलले आफूलाइ सभापतिको कित्तामा उभ्याइरहदा बर्तमान सभापति सशील कोइराला आफै सभापतिमा चुनाव लड्ने सोचमा रहेको आभाष हुन थालेको छ । आफै सभापतिमा चुनाव लड्दा पनि सुशील कोइरालालाई आन्तरिक व्यवस्थापन त्यती सहज हुने देखिन्न । सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी. र डा. सशांक कोइराला तथा पदाधिकारीका आकाक्षीहरु डा. शेखर कोइराला, डा. रामशरण महत, कृष्ण सिटौला, सुजाता कोइराला लगायतको व्यवस्थापन निकै चुनौतिपूर्ण देखिन्छ । सिंह, केसी र कोइरालाको उम्मेदवारी पदाधिकारीको वार्गेनिङको रुपमा हो कि भन्ने बहस पनि कांग्रेस बृत्तमा चल्न थालेको छ ।
अर्कोतर्फ देउवा समूहमा पनि पद व्यवस्थापन त्यती सहज छैन् । खुमबहादुर खड्का, विमलेन्द्र नीधि, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, प्रकाशशरण महत, रमेश लेखक, पूर्णबहादुर खड्का पदाधिकारीका आकाक्षी छन् । महामन्त्री नपाए सभापति लड्ने खुमबहादुर खड्काको तयारीले देउवा समूह त्रसित छ । खुमबहादुर खड्काको समूहमा  पूर्व महामन्त्री कुलबहादुर गुरुङ, पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरे, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी लगायतको कांग्रेसी समूह रहेको छ । त्यस्तै पदाधिकारीको भाग जता पाएपनि जान गोडा उचालेर बसेका अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, कृष्ण सिटौलाहरुको दोहोरो चरित्रले पनि सुशील कोइरालालाई चिन्तित तुल्याएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ता, मुलुक र अन्र्तराष्टिय समूदायले यतीबेला मध्यमार्गी नेताको आवस्यकता महशुस गरेको छ । १२ बुँदे सम्झौतादेखि मुलुकको शान्ति प्रक्रियामा प्रत्यक्ष र प्रभावकारी भूमिका खेल्दै आउनु भएका र गिरिजा प्रसाद कोइरालाको कार्यकुशलता र क्षमतालाई नजिकबाट नियाल्नु भएका डा. शेखर कोइराला ‘नेता परिवर्तन भन्दा पनि नेताका मानसिकता र ‘नीति परिवर्तन गर्न सकेमात्रै महाधिवेशन सार्थक हुने’ बताउनुहुन्छ । अधिकांश समय जिल्ला भ्रमण र कार्यकर्तासंगै रहनुहुने शेखर भन्नुहुन्छ ‘साच्चै ६०-४० को भागवण्डाले नेपाली कांग्रेस खण्डहर भइसकेको छ । यो तोडिनु पर्छ र म यहि ६०-४० को भागवण्डा तोड्न प्रयासरत छू ।’ गिरिजा प्रसाद कोइरालाले सुरुवात गर्नुभएको शान्ति प्रक्रिया टुंगोमा पु-याउन सक्ने क्षमता भएको नेताको आवस्यकता भएको कांग्रेस कार्यकर्ताहरुको धारणा छ ।
२०६२-६३ को परिवर्तन पछाडि मुलुक नितान्त फरक ढंगले अगाडि बढिरहेको छ । यतिवेला मुलुक नयाँ शासन पद्धतीमा छ । यसकारण मुलुकका निम्ती यती लामो संघर्ष गरेको पार्टी नेपाली कांग्रेस परम्परागत शैली र पुरातनवादी सोचबाट अगाडि बढ्न सक्दैन । मुलुक बुझेका, पार्टी बुझेका र कार्यकर्ताको मर्म र भावना  सम्मान गर्न सक्ने नेतृत्व नेपाली कांग्रेसले खोजेको छ । पार्टीको भन्दा पहिले गुटको सदस्यता लिनुपर्ने परम्परा समाप्त गरिनुपर्छ । नयाँ सोच र विचार भएका, भागवण्डाको राजनीति समाप्त गरेर विकसशील समयको नयाँ उर्जाशील र एकत्रित कांग्रेस  निर्माण गर्छु भन्ने सोचको व्यवहारमुखी नेता चयन गर्नु अहिलेको प्रमुख आवस्यकता हो । हजारौ इमान्दार, कर्मठ, त्यागी र संघर्षशील कार्यकर्ताको परिश्रम, सहिदहरुको बलिदान र रगतको जगमा उभिएको पार्टी हो नेपाली कांग्रेस । कार्यकर्ताको सही मूल्यांकन गर्ने परिपार्टी नवस्दासम्म नेपाली कांग्रेस उर्जाशील र सक्षम बन्न सक्दैन । नेपाली कांग्रेसको धार निकै पुरानो भैसकेको छ र खिया लागेको छ । खिया लागेको पुरानो धारले केही गर्न सक्दैन । नेपाली कांग्रेसलाई अगाडि बढाउन नयाँ धार लगाउनै पर्छ ।
दिनेशचन्द्र थपलिया