काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले विगतमा आफूले दिएको सल्लाहलाई दलहरुले बेवास्ता गर्दा मधेस र पहाडबीचको दूरी बढेको बताएका छन् ।
मंगलबार काठमाडौंमा ‘तेज तीर्थ’ ट्रस्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले सबै दलहरुलाई सहमतिमा लिएर केही सातामात्रै ढिलो गरी संविधान जारी गरेको भए मुलुकले अहिलेको अवस्था भोग्नुनपर्ने उनले जिकिर गरे ।
कार्यक्रममा कांग्रेस नेता तीर्थराम डंगोल र उनकी श्रीमती तेजकुमारी डंगोलको नाममा स्थापना भएको १ करोड रुपैयाँ राशीको अक्षय कोषसहितको तेज तीर्थ ट्रस्टको पूर्वराष्ट्रपति यादवले उद्घाटन गरेका हुन् ।
सो कोषले हरेक वर्ष साहित्य र पत्रकारितामा योगदान पुर्याउने चारजनालाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जानकारी दिइयो ।
सोहीक्रममा साहित्यकारद्वय सुवर्णकेशरी चित्रकार र तिलकप्रकाश कायस्थलाई जनही नगद ५० हजार रुपैयाँसहित पूर्वराष्ट्रपति यादवले पुरस्कृत गरेका थिए ।






