१४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माण भइसकेका अवस्थामा सरकार बाहिर रहेका असन्तुष्ट दल राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले यहाँ आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत पहिलो चरणमा सरकारले भूकम्प प्रभावित हिमाली क्षेत्रमा पाँच हजार सुरक्षित घरटहरा निर्माण गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
“आज हुने उपराष्ट्रपतिको निर्वाचनपछि सरकारले पूर्णता पाएसँगै बाहिर रहेका असन्तुष्ट दलको समेत सहभागितामा युवालाई परिचालन गरी देशव्यापी रूपमा पुनःनिर्माण अभियान नै सञ्चालन गर्नुपर्छ, त्यसका लागि युवाहरू तयार हुनुपर्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्रीले विभिन्न चरणमा भएका सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दलित, महिला, आदिवासी, जनजाति, मधेसीलगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिएको उत्कृष्ट संविधान बनेको अवस्थामा क्षेत्रीय र जातीयतावादी धारणा राखेर आन्दोलन गर्दा मुलुकले निकै ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
कुनै पनि पार्टीसँग बहुमत नभएका अवस्थामा अत्यधिक मतबाट निर्माण भएको संविधानको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
युवा सङ्घका अध्यक्ष राजीव पहारीले संविधानको कार्यान्वयनसँगै मुलुकमा व्याप्त गरिबी, अशिक्षा र कुरीतिको अन्त्य गरी आर्थिक विकासको बाटामा देशलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, पोलिटब्युुरो सदस्य शेरधन राई, पूर्वमन्त्रीद्वय महेश बस्नेत र भगवती चौधरीलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रजातान्त्रिक युवा सङ्घमा भुसाल उम्मेदवार
युवा सङ्घले विश्व प्रजातान्त्रिक युवा सङ्घका उपाध्यक्षमा सुन्दर भुसाललाई उम्मेदवार बनाउने भएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म क्युबामा हुने १९ औँ महासम्मेलनमा सङ्घका तर्फबाट भुसाललाई उपाध्यक्षमा उठाइने सङ्घका महासचिव प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
भुसाल युवा सङ्घ विदेश विभाग उपप्रमुख समेत हुनुहुन्छ । मुख्य कार्यालय हङ्गेरीमा रहेको सो संस्थाले यस पटक क्युबामा महासम्मेलन गर्न लागेको छ । महासम्मेलनमा विश्वका विभिन्न प्रगतिशील राष्ट्रका युवा सङ्घसंस्थाको सहभागिता रहनेछ ।
सङ्घका अध्यक्ष पहारी सङ्घको नेतृत्व गर्दै त्यसतर्फ जानुहुने बताइएको छ । विश्वमा गरिबी निवारण, युवामैत्री समाज निर्माण, विश्व भ्रातृत्व तथा विश्व शान्तिका लागि सहभागी राष्ट्रले जानकारी गराउने तथा अनुभव आदानप्रदान गर्नेछन् । रासस
ओली सरकारको दोस्रो निर्णयः हिमाली क्षेत्रका भूकम्पपीडितलाई पाँच हजार सुरक्षित घर दिइने






