सरकारले बाँडेको ग्यास उपभोक्ताले पाएनन्, बिक्री केन्द्रबाट वितरण नभए कारबाही गरिने

– रमेश लम्साल र हरि लामिछाने

काठमाडौँ, १४ कात्तिक । खाना पकाउने ग्यास पाउने आशामा तीनदेखि भक्तपुरमा लाइन बस्नु भएकी रोशनी खड्काले सहज रुपमा ग्यास पाउन सक्नुभएन ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सूचीकृत बिक्री केन्द्रबाट खाना पकाउने ग्यास वितरण गर्ने बताएपछि खड्का हिमाल ग्यास पाइन्छ कि भनेर सानी छोरीलाई घरमा एक्लै छाडेर बिक्रेताकहाँ पुग्नुभएको थियो । ग्यास बिक्रेता भोटे ताल्चा लगाएर पसल बन्द गरेर हिँडेपछि खड्का निराश हुनुभयो । ग्यास उद्योगीले उद्योगबाटै खाना पकाउने ग्यास वितरण गरेपछि उपभोक्ताले सास्ती खेप्न बाध्य भएका हुन् । खड्काले पनि सोही कुरा सुन्नुभएको थियो तर हिमाल ग्यासको डिपोले आपूmहरुकहाँ ग्यास नआएको भन्दै नदिएको दुखेसो उहाँले गर्नुभयो ।
यस्तै काठमाडौँ बानियाँटार बस्दै आउनुभएकी गृहणी बन्दना खड्काको पनि उस्तै दुखेसो छ । चार वर्षकी छोरी डोहो¥याउँदै खाना पकाउने ग्यासको खोजीमा बिक्री केन्द्र चाहर्दा पनि ग्यास नपाएको भन्दै उहाँले नजिकैको डिपोबाट ग्यास दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगले नै बिक्रेतालाई ग्यास नदिएका कारण वितरणमा समस्या भएको बताउनुभयो । डिलरमा ग्यास नपुग्दा ग्यासको खोजीका आएका उपभोक्ता समस्यामा परेको उहाँको भनाइ छ । बिक्री केन्द्रमा खाना पकाउने ग्यास पाउने आशामा आएका उपभोक्तालाई ग्यास उद्योगबाटै वितरण हुन थालेपछि उपत्यकाका कुना कुनाका उपभोक्ता मारमा परेका छन् । उद्योग परिसर नजिकका उपभोक्ताले थप मौज्दात राख्न थालेका छन् ।
उपत्यकामा आज एभरेस्ट, नेपाल र त्रिशूल ग्यास वितरण गरिएको छ । तर उद्योग परिसमै बाँडिएका कारण बिक्री केन्द्रमा भने उपभोक्ता रित्ता सिलिन्डर लिएर लाइनमा बस्न बाध्य भएका हुन् । एभरेस्ट ग्यास उद्योग रहेको ललितपुरको चाल्नाखेलमा स्थानीयवासीको लामो लाइन लागेको छ । यस्तै नेपाल ग्यासको उद्योग बालाजु आद्योगिक क्षेत्रमा समेत लामो लाइन छ ।
बिक्री केन्द्रमा भने ग्यास आउने वा नआउने हालसम्म टुङ्गो नभएको त्रिशूल ग्यास वितरण गर्दै आउनुभएका बालाजुका केदार गौतमले जानकारी दिनुभयो । आज बिहानैदेखि लाइनमा बसेका उपभोक्तालाई उद्योगले ग्यास नदिँदा समस्या भएको गौतमको भनाइ छ ।
महासङ्घका महासचिव थापाका अनुसार उद्योगीले सुरक्षाको कारण देखाएर बिक्री केन्द्रलाई ग्यास दिन अटेर गरेका छन् । थापाले अनुमति प्राप्त बिक्री केन्द्रबाट वितरण गर्दा सबै क्षेत्रका उपभोक्ताले समानरुपमा ग्यास प्राप्त गर्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
बिक्री भएका स्थानमा भने नेपाल प्रहरीले उच्च सुरक्षा प्रदान गरेको छ । सुरक्षाको कारण देखाउँदै आज बिहान बालाजुमा वितरण गर्न लागिएको नेपाल ग्यास भने साँझ परेपछि वितरण गर्ने भन्दै स्थगन गरिएको छ । नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरेले उपत्यकामा विभिन्न उद्योगका ग्यास वितरण गर्न थालिएको जानकारी दिनुभयो । केही स्थानमा बिक्रीमा समस्या भएको गुनासो आएको स्विकार्दै उहाँले बिक्री केन्द्रबाटै ग्यास वितरणको प्रबन्ध मिलाउन पहल भइरहेको बताउनुभयो ।
उता ग्यास उद्योगीले भने उद्योग परिसरमा नै उपभोक्ताको लामो लाइन भएकाले ग्यास बिक्री केन्द्रसम्म पु¥याउन नसकिएको बताएका छन् । आज वितरण गरिएका ग्यास भने ७.१ किलोको रहेको छ । सामान्य अवस्थामा बिक्री गरिने ग्यासको परिणाम भने १४.२ किलो रहेको थियो । आधा परिणाम मात्रै बिक्री गर्दा मूल्य पनि रु ७०० मात्रै तोकिएको छ ।
राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ । मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी रहेको भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ ।
उपत्यकामा शनिबारदेखि १६ बुलेट ग्यास वितरण गरिने छ । एक बुलेट ग्यासमा एक हजार २५० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ५०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ ।
प्रति परिवार ७.१ केजीको एक सिलिन्डर ग्यास उपलब्ध गराउँदा सामान्यतः २५ दिनसम्म चल्ने र त्यसपछि थप विकल्प अपनाउन सकिने भएकाले हाल आधा परिणाममा वितरण गर्न लागिएको हो । वितरण शनिबारदेखि सुरु गरिने र वाणिज्य आपूर्ति तथा व्यवस्थापन विभाग, स्थानीय प्रशासन, नेपाल प्रहरी र उपभोक्तावादी सङ्घ संस्थाले अनुगमन गर्नेछन् ।
वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले विभागबाट प्रमाणित भएका वितरक, बिक्रेताबाटै ग्यास बिक्री हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगीले बिक्री गर्नु नियम विपरीत हुने भएकाले त्यस्तालाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्दै समानुपातिक र न्यायोचित वितरणका लागि बिक्रेतामा ग्यास उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । रासस