गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय

तम्घास । प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए। भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार बनाउँदा पार्टी संरचना ध्वस्त हुने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ। गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए। भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई सहज भएको आँकलन गरिएको छ ।

भुषालले उम्मेदवारी फिर्ता लिएपछि झाँक्रीले फेसबुकमा लेख्छिन् – डा. दामोदर भूसाल र म विधार्थी राजनीतिक संगसंगै गर्यौं । काठमाडौको सडकमा संगसंगै जुत्ताका तल्ला फटाएको, बिद्रोहको झण्डा संगै उठाएको संझना ताजै छ।गठबन्धनको कारण गुल्मी -२ मा मैले टिकट पाएँ। उहाँ टिकट लिन योग्य मान्छे हो। नेपाली काँग्रस भित्रको बौद्धिक ब्यक्तित्व हो।आज हामी संगै यात्रामा छौं । आफ्नो उम्मेद्वारी निस्क्रिय बनाएर गठबन्धनको उम्मद्वारलाई जिताई आजको समयको आवश्यक पुरा गर्ने अभियानमा हुनुहुन्छ।आदारणिय सुरेश भूसाल दाजु सहित सबै नेताहरू प्रति आभार ब्यक्त गर्दछु । हामी संगै छौ आज पनि।