लण्डन। राजा चार्ल्स तृतीयको राज्याभिषेक आउँदो ६ मे २०२३ मा तय गरिएको छ । राज्याभिषेक कार्यक्रम वेस्टमिन्स्टर एबेमा हुने जानकारी बकिङ्घम प्यालेसले दिएको हो ।
शाही परिवारको एक ट्वीटमा भनिएको छ – राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार ६ मे २०२३ मा वेस्टमिन्स्टर एबेमा हुनेछ ।
समारोहमा राजा चार्ल्स तृतीयका साथै द क्वीन अफ कन्सोर्ट अर्थात् उनकी श्रीमती क्यामिलाको पनि राज्याभिषेक हुनेछ ।
स्मरण रहोस्, यसअघि रानी एलिजाबेथले पनि राज्याभिषेकका लागि करिब १६ महिना प्रतीक्षा गर्नुपरेको थियो । फेब्रुअरी १९५२ मा पिताको निधन भएपछि उनी रानी बनेकी थिइन् तर जुन १९५३ मा उनको राज्याभिषेक भएको थियो ।
राज्याभिषेकका बेला राजा चार्ल्स ७४ वर्षको हुनेछन् । नयाँ ताज पहिरिने उनी सबैभन्दा पाका राजा हुनेछन् । उनको राज्याभिषेकको मितिमा उनका नाती आर्चीको पनि चौथो जन्मदिन पर्छ । आर्ची ह्यारी र मेगनका छोरा हुन् ।






