काठमाडौं- नेकपा एमाले विभाजनअघिका दुई राजनीतिक सहकर्मी यसपटको आम निर्वाचनमा एकअर्काविरुद्ध आमने-सामने भएका छन् ।
नेकपा एमालेमा रहँदा गोकर्ण विष्टलाई जिताउन चुनावी मैदानमा होमिएकी झाँक्री यसपटक उनलाई पराजित गर्न चुनावी मैदानमा छन् ।
गुल्मी-२ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सचिव गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
विष्ट र झाँक्रीले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०५६ को निर्वाचनदेखि गुल्मी-२ बाट विष्ट एमालेको उम्मेदवार बन्दै आएका छन् । उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए ।
झाँक्री भने पहिलोपटक चुनावी मैदानमा छन् । झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् ।






