नयाँ बानेश्वरको बीच सडकमै रातारात बन्यो १५ फिट गहिरो खाल्डो

काठमाडौं । नयाँबानेश्वरमा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार ठूलो भ्वाङ परेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा सोमबार बिहानै ‘सडक भत्कियो’ भन्दै फोन आएपछि प्रहरी सो क्षेत्रमा पुगेको थियो । प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको छ ।

सधैं व्यस्त र सवारी चाप अत्यधिक हुने त्यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक पनि हो। प्रहरीले सडकमा खाल्डो परेको थाहा पाएसँगै त्यस क्षेत्रमा हाइ अलर्ट गरेको थियो ।

सुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। काठमाडौं सडक डिभिजन कार्यालयको टोलीले एक्स्काभेटर ल्याएर खनेपछि वास्तविक आकार थाहा भयो। खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। पूरै खोतलेपछि मात्र यसको आकारप्रकार नाप्न मिल्ने टोलीमा रहेका इन्जिनियरले बताए।

यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंगाल कारण देखिएको प्राविधिकहरूले बताएका छन्।

ढलले सुरूमा मंगाल फुटाएको र मंगालबाट ढल लिकेज भएपछि सडकभित्रको माटो गलाएर खाल्डो बनेको देखिएको बताइएको छ । उक्त क्षेत्रको व्यवस्थापन गर्ने काम भइरहेको छ ।