अस्ट्रेलियामा अभिनय हुँदै अब निर्देशनमा पनि सन्तोष अधिकारी (भिडियोसहित)

सिड्नी । अस्ट्रेलियामा रहेका सन्तोष अधिकारीले अभिनय तथा निर्देशन गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

स्वदेशबाहिर भएतापनि नेपाली गीत संगीत र चलचित्रमा निरन्तर रुपमा सक्रियता देखाइरहेका अधिकारीले “गहिरो थियो मेरो माया” बजारमा ल्याएका छन् । अजय कुमार अधिकारीको शब्द र संगीतमा रहेको गीतमा गायक सनुप पौडेलको स्वर रहेको छ भने निर्देशन अधिकारीले नै गरेका छन् ।

अधिकारीसँगै निखिला बुढाथोकीको अभिनय रहेको उक्त भिडियोको छायाँकन अष्ट्रेलियाका विभिन्न रमणीय स्थलमा गरिएको उक्त भिडियो एएसएपी इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो । नेपाली गीत संगीत र चलचित्र अब अन्तराष्ट्रियको मार्केटमा जानुपर्ने भन्दै अधिकारीले उक्त कुराको सुरूवात गरेको बताए ।

कोरोना महामारी कै समयमा अष्ट्रेलियामा “आमा” चलचित्र हलमै प्रदर्शन गराएका अधिकारी उक्त चलचित्रको सहनिर्माता समेत हुन् । त्यसैगरी अर्पण थापाको निर्देशनमा निर्माण भएको चलचित्र “घर” मा समेत सह—निर्माताको रुपमा काम गरेका अधिकारी प्रदर्शनको पखाईमा रहेको चलचित्र “तीन जन्तु”को पनि निर्माता हुन् ।

सफल व्यवसायीको पहिचान समेत बनाएका अधिकारीले पोखरामा अधिकारी एएसएपी ग्रुप, अरकेडी ग्रुप तथा तनहुँको बन्दिपुरमा बन्दै गरेको बन्दिपुर केवलकारमा लगानी गरेका छन् । समाजसेवामा राम्रोे छवि बनाएका अधिकारीले विभिन्न रोग लागेर उपचारका लागि अस्पतालको शैयामा छट्पटाएका कति बिरामीलाई सहयोग गरेका छन् । लण्डन नेपाल न्यूजसंगको कुराकानीको क्रममा अधिकारीले अस्ट्रेलियामा नेपाली संस्कृति र कलाको बजार स्थापना गर्ने कुरामा निरन्तर रुपमा लागिपर्ने बताए ।

भिडियो