छोरालाई अँगालोमा बाँधेर धरधरी रोइन् भारतमा मृत्युदण्ड पाएकी यी महिला

नयाँ दिल्ली । भारतमा पहिलो पटक एक महिलालाई मृत्युदण्ड दिने तयारी थालिएको छ । महिलालाई मृत्युदण्ड दिइने भएपनि उत्तर प्रदेशको मथुरा जेलमा फाँसी घर मर्मत गर्न थालिएको छ ।

स्वतन्त्र भारतको इतिहासमा पहिलोपकट कुनै महिलालाई फाँसी दिन लागिएको हो । शबनम नाम गरेकी एक महिलालाई मथुरा जेलमा फाँसी दिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँसी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँसी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँसी दिइएको थिएन ।

हालै जेल प्रशासनले कसुरदारलाई फाँसीमा झुण्ड्याउने जल्लादलाई दुई पटक फाँसी घरको निरीक्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँसी घरको मर्मत र फाँसीमा प्रयोग हुने डोरीसमेत मगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अदालतले मृत्युदण्डको सजाय सुनाए पछि शबनले राष्ट्रपति समक्ष क्षमा याचनाको निवेदन दिएकी थिइन् । राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृत्युदण्ड दिने बाटो खुलेको हो ।

उत्तर प्रदेश राज्यको अमरोहा जिल्लाको बावनखेडी गाउँकी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्ममतापूर्वक हत्या गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् । उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै हत्या गर्ने योजना बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

योजनाअनुसार उनीहरुले पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औषधि खुवाएका थिए । बेहोस भएको मौका छोपी सबैलाई बञ्चरो प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

१५ जुलाई २०१० मा नै अमरोहा जिल्ला अदालतले शबनम र उनका प्रेमी सलिमविरुद्ध मृत्युदण्डको फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएको करिब ११ वर्षपछि सबनमलाई फाँसी दिन लागिएको हो ।

छोरालाई अंकमाल गरेर धरधरी रोइन

हाल शवनमको एक छोरा छन् । तर ती छोरालाई बुलंदशहरको एक दम्पत्तिले छोरालाई एडप्ट गरेका छन् । उनले सन् २००८ डिसेम्बर १३ मा मुरादाबादको जेलमा छोरा जन्माएकी थिइन् । केही दिन अघि बालकलाई पालिरहेका दम्पत्तिले उनलाई रामपुल जेलमा कैद शबनमलाई भेटाउन लगेका थिए ।

स्रोतका अनुसार जब आमाले छोरालाई देखिन् तर उनी भक्कानो परेर रुन थालिन् र धेरै बेरसम्म शबनमले छोरालाई अँगालोमा बाँधेर रुन थालिन् । शबनमले छोरालाई बारम्बार राम्रोसँग पढेर राम्रो मान्छे बन भनेर सम्झाइरहेकी थिइन् । उनले छोरालाई ‘म नराम्रो आमा हुँ, मलाई कहिले पनि याद नगर’ भनिन् ।

– एजेन्सी ।