अष्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-८ ठेगाना भएका २३ वर्षीय अमित भुजेल रहेका छन । उनलाई हिजो बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु र त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनी २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।