टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बिहीबार बिहानसम्मको प्राप्त तथ्यांकअनुसार सो भूकम्पमा परेर ज्यान जानेको संख्या टर्कीमा मात्रै कम्तीमा १२ हजार ३ सय ९१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सिरियामा कम्तीमा २ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ।
टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् । परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । विमानस्थलका टर्मिनलमा समेत भूकम्पपीडितहरूले आश्रय लिइरहेका छन् ।
गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।उद्धार जारी छ मृत्यु हुनेको संख्या अझै बढ्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो क्षेत्रमा रहेका नेपालीहरू भने अहिलेसम्म सुरक्षित रहेको गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङले जानकारी दिएका छन्।
उनका अनुसार भुकम्प गएको क्षेत्र राजधानी इस्तानबुलभन्दा धेरै टाढा हो। र त्यहाँ नजिकै ५-६ नेपालीहरू कार्यरत थिए। तर अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको उनले बताए।






