एक्काको अध्यक्षमा राम चन्द्र पौड्याल निर्विरोध चयन

सिड्नी । अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स (एक्का)को अध्यक्षमा रामचन्द्र पौड्याल निर्विरोध चयन भएका छन् ।

शुक्रवार सम्पन्न छैठौँ बार्षिक साधारण सभाले ग्रेस ईन्टरनेशनलका फाउण्डर पौड्यालको अध्यक्षतामा २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा ४ जनाको दाबी रहेपनि २ जनाको मात्रै उम्मेदवारी दर्ता भएको थियो । तर अन्तिममा अध्यक्षमा दाबी सहित परेको उम्मेदवारी सहमती सहित फिर्ता भएपछि पौड्याल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नवगठित समितिको उपाध्यक्षमा कोमलराज पाठक, योगेन्द्र पौडेल, सूर्यभक्त खनाल चयन भएका छन् । त्यस्तै सचिवमा, दिनेश खनाल, सह-सचिवमा भुवनहरि पाण्डे, कोषाध्यक्ष सत्यप्रकाश कडेंल र सदस्यहरूमा सुमन अधिकारी, राम चालिसे, दिपक के.सी, भुमेश्वर सुवेदी, सृष्टि शाह लगायत चयन भएका छन् । सोही दिन नवनिर्वाचित समितिको पहिलो बैठकले जनसम्पर्क अधिकृतमा राम चालिसे र प्रवक्तामा सृष्टि शाहलाई नियुक्त गरेको थियो ।

कार्यक्रममा महावाणिज्य दुत दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो । हन्टर फ्लड वकिलहरूबाट किम हन्टर, क्वान्टम ल ग्रुपका जिले यू र जुस्टिन विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । साधारण सभामा विभिन्न क्षेत्रका वक्ताहरुको सहभागिता रहेको थियो ।

साँझको कार्यक्रममा काउन्सिलर प्रमेज श्रेष्ठ, मोर्डडेल वाड काउन्सिलर निक स्मरडेली र सांसद वेन्डी एलिजाबेथ लिन्डसेको समेत उपस्थिति रहेको थियो ।

अध्यक्षमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै अध्यक्ष पौडेलले आफुलाई विश्वास गरेर अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध चयन गरेकोमा सम्पूर्णलाई आभार व्यक्त गरे ।

उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समन्वय गरेर अगाडी बढ्ने र नेपाली तथा अस्ट्रेलियामा रहेका अन्य सघंसंस्थाबीच समन्वयकारी भुमिका निर्वाह गरी एजुकेशन र माईग्रेशन दुबै पक्षलाई अगाडी बढाउँदै लैजाने बताए ।  उनले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुधारका लागि समेत काम गर्दै विद्यार्थीहरुका तमाम समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने बताए ।

पूर्व अध्यक्ष भुपाल सिटौलाले आफुलाई आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

२०१२ मा स्थापना भएको संस्थाको संस्थापक अध्यक्ष विवेक थापा हुन् । अस्टेलियामा रहेका एजुकेशन कन्सल्टेन्सीहरुलाई एकताबद्ध गर्दै आचारसहिंता र अन्य विविध सहयोगीको रुपमा काम गर्दै आईरहेको छ । जसले विद्यार्थी र एजुकेशन कन्सल्टेन्सीलाई आफैलाई पनि काम गर्न सजिलो भएको तथा र सेवा सुविधा समेत भरपर्दो हुने संस्थाको विश्वास रहेको संस्थापक अध्यक्ष विवेक थापाले बताए । सुरुवातमा २५ जनाबाट सुरु भएको संस्थाका अहिले ४५ जना सदस्य रहेका छन् भने यो क्रम अझै बढ्दै गईरहेको उनले बताए ।