सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान (एनकेएसएसपी) को वार्षिक साधारण सभा सम्पन्न भएको छ। सिड्नीको मेरील्याण्ड्समा २६ सेप्टेम्बर शुक्रबार सम्पन्न साधारण सभामा गत दुई वर्षको कार्यशैली, प्रगतिहरू, सुधारका पक्ष, चुनौती र विगतका कार्यक्रमहरूको समीक्षासँगै २००८ सालको विधान संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको थियो।
संस्थाको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी कल्याणी बर्तौलालाई २०२५–२०२७ कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरियो । यसअघि संस्थापक अध्यक्ष समेत रहेकी तत्कालीन अध्यक्ष सुजाता बस्नेत केसीलाई उनको अथक समर्पण, नेतृत्व र दीर्घकालीन योगदानका लागि साधारण सभाले हार्दिक आभार प्रकट गर्यो। कार्यक्रममा पूर्व अध्यक्ष जानकी रिमाल, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य परिषद्का पूर्व संयोजक देव गुरुङ, सल्लाहकार, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको उपस्थितिमा सभा भई सम्पन्न भएको थियो।
यस्तै संस्थाको उपाध्यक्षमा(संस्कृति तथा कला) रीना केसी, महासचिव बिजय शाक्य, सचिव भूषण रोक्का, प्रवक्ता राम हरि केसी, कोषाध्यक्ष अर्जुन सापकोटा रहेका छन्। कार्यसमिति सदस्यहरूमा कुमारी गुरुङ, मञ्जु गुरुङ, दिपक सापकोटा, बिनोद थापा र राजन लाम्साल रहेका छन्। त्यस्तै सल्लाहकारमा देव गुरुङ, ज्ञान गुरुङ र सुमन सिग्देल तथा संरक्षक जानकी रिमाल, सुजाता बस्नेत केसी र रविन्द्र शर्मा रहेका छन्। निर्वाचनका प्रमुख आयुक्तको भूमिका देव गुरुङले वहन गरेका थिए र अन्तिम कार्यसमिति घोषणा पनि गुरुङकै घोषणाबाट सम्पन्न भएको थियो।
यस अवसरमा संस्थाले नेपाली कला, साहित्य र संस्कृतिलाई माया गर्ने सबैलाई साधारण सदस्यका रूपमा जोडिन आह्वान गरेको छ। साथै, दशैंको शुभ अवसरमा सम्पूर्ण नेपाली समुदायप्रति सुख, शान्ति, समृद्धि र एकताको शुभकामना व्यक्त गर्दै घर–परिवारदेखि समुदायस्तरसम्म नेपाली कला, संस्कृति, परम्परा र सम्पदाको संरक्षण, प्रवर्द्धन तथा संरक्षणका लागि सामूहिक रूपमा लाग्न सबैलाई प्रोत्साहित गरेको छ।






