सिड्नी । ११६औं लक्ष्मी जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु, अस्ट्रेलियाले “अनेसास मुक्तक महोत्सव–२०२५” भव्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रम यही १८ अक्टोबर, शनिवार दिउँसो २ बजे देखि ५ बजेसम्म सिड्नीको ब्ल्याकटाउनस्थित प्रिशा इभेन्ट हलमा आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता अनेसास, एनएसडब्ल्युका अध्यक्ष डा. प्रकाश पौडेलले गरेका थिए भने प्रमुख अतिथि साहित्यकार धु्रव हरि अधिकारी रहेका थिए।
कार्यक्रमको सुरुवातमा कवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा दीप प्रज्वलन र माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको थियो। यस वर्षको “मुक्तक महोत्सव”मा करिब दुई दर्जनजति साहित्यकारहरूले आफ्ना मुक्तक र कविताहरू प्रस्तुत गरेका थिए। कार्यक्रमा साहित्यकारहरू सानु घिमिरे, जितेन्द्र मल्ल, सौरभ किरण श्रेष्ठ, रिचा गौतम, प्रतिज्ञा अधिकारी, सन्तोष रिजाल, भावना पराजुली, र चतुर्भुज खरेल , ज्ञानु वाकर पौडेल, त्रिपुरा पौडेल, सन्तोष शर्मा, जिबराज घिमिरे, मुक्तिरम पोख्रेल, डा. प्रकाश पौडेल, र डा. राजु मानन्धर बचन कविता वाचन गरे। प्रमुख अतिथि धु्रव हरि अधिकारीले साहित्यकार ज्ञानु वाकर पौडेललाई सम्मान चिनो प्रदान गरी सम्मान गरेका थिए।
कार्यक्रमका प्रायोजकहरूलाई संस्थाका अध्यक्ष र महासचिवले धन्यवाद पत्र र सम्मान चिनो प्रदान गरी आभार प्रकट गरेका थिए।सन् २०११ मा अनेसास, एनएसडब्ल्यु, अस्ट्रेलियाको स्थापना भएपछि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो कवि सम्मेलन कोभिड–१९ का कारण केही समय रोकिएको थियो।
यस वर्षदेखि पुनः सुरु गरिएकोमा सहभागी सबैले हर्ष व्यक्त गरेका थिए। संस्थाकी महासचिव भावना पराजुलीले कार्यक्रमले नेपाली साहित्यलाई प्रवासमा अझ सशक्त रूपमा अघि बढाउने लक्ष्य लिएको वताइन। कार्यक्रमको अन्त्यमा परम्परागत देउसी–भैंलोको रमाइलो प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमलाइ स्मार्ट मोर्टगेज, एभरेस्ट ट्राभल्स एन्ड टूर्स , एसईवाई एजुकेसन एन्ड भिसा सर्भिसेस र एक्सपोर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले प्रयोजन गरेका थिए।






