मेलबर्न । भिक्टोरिया राज्यको मेलबर्नमा कोभिड १९ संक्रमितहरु भेटिएपछि भिक्तोरिया राज्यमा एक हप्ते लकडाउन घोषणा गरिएको छ ।
आज मध्यरातदेखि भिक्टोरियामा चौथोपटक लकडाउन घोषणा गरिएको हो । नयाँ प्रतिबन्धहरुअनुसार अब ५ कारणबाहेक अन्य कुराले घरबाहिर निस्कन पाइने छैन । हेरचाह, आवश्यक किनमेल, व्यायाम, अत्यावश्यक काम र खोप लिनको लागि मात्र सरकारले घरबाहिर निस्कन अनुमति दिएको छ ।
घरमा कोही पाहुन ल्याउने गर्न अनुमति दिइएको छैन, एक्लै बस्नेले भने एकजना साथी ल्याउन पाउनेछन् । सार्वजनिक स्थलमा जान पाइने छैन, रेष्टुरेन्टहरुले पनि डेलिभरीबाहेकका सेवा दिन पाइनेछैन । सुपरमार्केट, खाद्यान्नका पसलहरु, पेट्रोल स्टेशन, बैंक, मदिराका पसलहरु तथा औषधि लगायत अन्य खुद्रा पसलहरुले पनि अनलाईन सेवा दिन सक्नेछन् ।
त्यस्तै मुख्य खेलकूद गतिविधिहरु मानिसहरुको भीडभाडविना नै सञ्चालन गर्न भनिएको छ । घर बाहिर निस्कने क्रममा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ ।विद्यालयहरुले अनलाईन कक्षा चलाउनेछन् । बढी भिडहुने होटल क्यासिनो, विवाह, समारोहलाई पूर्ण प्रतिबन्ध लगाइएको छ भने मृत्युकर्म गर्दा १० जना मात्र जान पाइनेछ ।
संक्रमणको शंका लागेका या संक्रमितसँग सम्पर्कमा आएका सबैलाई आइसोलेट हुन र परिक्षण गराउन भनिएको छ । हाल भिक्टोरियामा ३४ जना संक्रिय संक्रमित रहेको कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले बताए ।
यसअघि भिक्टोरियामा तीन पटक सम्म कडा लकडाउन गरिएको थियो । यसपटकको चौथो पटक लकडाउनको अवज्ञा गर्नेलाई पनि कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । त्यस्तै संक्रमितसँग सम्पर्कमा आएको आशंकामा १० हजार मानिसहरुलाई आइसोलेसनमा बस्न भनिएको छ । त्यसैगरी १५० भन्दा बढी क्षेत्रहरु संक्रमित रहेको क्षेत्रको रुपमा परिभाषित गर्दै सुरक्षा अपनाइएको छ ।






