सर्वाेच्चले दिएन अन्तरिम आदेश, संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उनले पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन्।

उक्त रिटहरुमा विहिबार भएको बहसको क्रममा संसद विघटनको कारवाही रोक्न अन्तरिक आदेश दिन अस्वीकार गरिएको छ । विपक्षी गठबन्धनले संसद विघटनको निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन र प्रधानमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट शेर बहादुर देउवालाई नियुक्त गर्न आदेश माग गरिएको थियो ।