लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले २५६५ औं बुद्ध जयन्तीको अवसरमा अल्डरसटस्थित बुद्ध गुम्वा र निर्माणधिन शिव मन्दिरको अवलोकन तथा दर्शन गरेका छन् । 
अवलोकनको क्रममा निर्माणधिन मन्दिरमा दर्शन साथै निर्माण सम्बन्धी जानकारी समेत लिए । बेलायतका निम्ती राजदूत नियुक्त भइ कार्यभार सम्हालेपछि पहिले पटक राजदूत रेग्मीले शिव मन्दिर अल्डरसटको दर्शन गर्न पुगेका हुन् । रेग्मीसँगै उनकी श्रीमती तथा उपनियोग प्रमुख रोशन खनाल सहित दूतावास परिवारका सदस्यहरुलाई शिव कल्चरल एण्ड कम्यूनिटी सेंटर अल्डरसट (शिव मन्दिर)का महासचिव बिक्रम भट्टराईले मन्दिरको निर्माण, संक्षिप्तमा ईतिहास, प्राणप्रतिष्ठा, उद्घाटन साथै आगामी दिनहरुमा के कसरी मन्दिर सञ्चालन हुँदैछ भन्ने बारेमा जानकारी गराएका थिए
उक्त अवसरमा राजदूत रेग्मीले नेपालबाट टाढा रहेरपनि आफ्नो धर्म, संस्कृति, परम्परा जगेर्ना गर्दै युरोप कै पहिलो प्यागोडा शैलीको नेपाली कलात्मक मन्दिर बनाएकोमा खुशी व्यक्त गरे । दूतावास तथा व्यक्तिगत तवरले गर्नसक्ने सबैखाले सहयोग गर्न राजदूत रेग्मीले प्रतिबद्धता जनाएको महासचिब भट्टराईले जानकारी दिए ।








