काठमाण्डौ । वरिष्ठ कलाकार जयनन्द लामाको मृत्यु भएको छ । ६६ वर्षको उमेरमा भत्तपुर स्थित आफ्नै निवास नजिकै कारबाट ओर्लिने क्रममा लडेर उनको मृत्यु भएको हो ।
स्व.लामा नेपाली लोक सगींत क्षेत्रका एक धरोहर थिए । उनका गीत सगींतहरु निकै लोकप्रिय थिए । कलकत्ते काईयोँ सर्वाधिक रुचाईएको गीत हो । त्यति मात्रै होईन उनले चलचित्रमा अभिनय गरेर अझै धेरै प्रशसंक बटुले । उनले अभिनय गरेका चलचित्रमा निभाएको पात्रलाई दर्शकहरुले निकै रुचाएका थिए ।
२०३० सालमा ‘मनको बाँध’ चलचित्रमार्फत अभिनयमा होमिएका लामाले चरित्र अभिनेताका रुपमा एक सय बढी चलचित्रमा अभिनय गरेका छन् । दर्जनौं टेलिश्रृंखलामा उनको अभिनय छ । लामाले नै तामाङ भाषाको पहिलो चलचित्र ‘छोरङन’को निर्माण र निर्देशन गरेका थिए ।
१२ वर्षको उमेरबाट कलाकारिता क्षेत्रमा लागेका लामाले २०२६ सालमा तत्कालिन राजा महेन्द्रको जन्मोत्सवको अवसरमा हुने सभामा कलाकार खोज्ने क्रममा वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाले फेला पारेका थिए । त्यसलगत्तै उनले रेडियो नेपालमा गीत रेकर्ड गर्ने अवसर पाए । त्यही अवसरलाई भरपुर सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गरेका उनले दरबारमै बसेर सगींत सिके । उनी २०२७ सालदेखि गीतसगींतको यात्रा सुरु गरे ।
प्छि उनले प्रज्ञा प्रतिष्ठानमा स्थायी जागिरको अवसर पाए । त्यही जागिरको सिलसिलमा उनले भारतमा गएर सगींत सिक्ने अवसर पाए । त्यही सिकेको सीपलाई नेपालमा आएर भरपुर प्रयोग गरे । उनका ’कलकत्ते काइँयो, पानी पर्यो बलेसी, हेलम्बू डाँडापारि, चुइँ चुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पातजस्ता दर्जनौं गीत लोकप्रिय छन् ।
एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले २०३० सालमा ’मनको बाँध’ बाट अभिनय सुरू गरेका थिए । भने चर्चित गीत कलकत्ते काईँयो उनले २०३८ सालमा रेकर्ड गरेका थिए । नेपालमा कुनै पनि कुराको उत्पादन नहुने र सबै वस्तु आयातित मै देश निर्भर रहेको प्रशगंमा गीत सिर्जना गरिएको थियो ।
लामा तत्कालिन युवराज स्व. दिपेन्द्रको सगींत प्रशिक्षक समेत थिए । नेपाली गीतसगींतको क्षेत्रमा थुप्रै योगदान गरेका उनलाई सरकाले कुनै सम्मान या विभुषण भने प्रदान गरेको थिएन् । एक वर्ष अगाडी लण्डन न्यूज नेपालसगं कुराकानी गर्दै स्व.लामाले भनेका थिए,मैले कुनै सम्मानको आशा गरेर या पाउँछु भनेर यो क्षेत्रमा लागेको हैन । मेरा प्यारा दर्शकहरुको अत्यधिक माया पाएको छु त्यही नै मेरो सम्मान हो ।
५० वर्षदेखि निरन्तर गीत सगींतमा लागेका उनले सरकारले यस क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्न नसकेको गुनासो भने गर्थे । जयनन्द अभिनेता तथा गायक मात्र थिएनन्, गीत-संगीत संकलक पनि थिए । उनले नेपालका धेरै ठाउँ पुगेर लोकधून संकलन गरे । तिनको संरक्षणमा पहल गरे ।
उनले संगीतबारे किताबसमेत लेखेका छन् । नेपाली संगीत वणर्माला, तामाङ संगीत अनुसन्धान र संगीत सिद्धान्त नामका किताबहरु प्रकाशित छन् । त्यसकारण भन्न सकिन्छ जयनन्द नेपाली गीत सगींत क्षेत्रका साधक मात्र थिएनन् संरक्षक समेत थिए । उनले दिएको योगदानको जतिनै प्रशसां गरेपनि कमै हुन्छ ।






