ब्रिटिस एजुकेसन ग्रुपले दुबईमा खोल्यो नयाँ ‘कलेज के छन् सुबिधा ?

लण्डन । ब्रिटिस एजुकेसन ग्रुपले दुबईमा ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ । दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज रहेको छ । टिबिसी र ब्रिटिस ग्रुपले शैक्षिक क्षेत्रमा गरेको यो लगानीले नेपाली विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नलेज भिलेजको कन्फ्रेन्स सेन्टरमा उद्घाटन कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि अर्ल लिमेरेकले भनेका छन्, ‘शिक्षामा परिवर्तन समयको माग हो र भविष्यको रोजगारी तथा व्यवसायी बन्नका लागि आवश्यक सबै सीपहरूमा विद्यार्थीहरु निपुण हुन् भन्ने सुनिश्चितता हामीले गर्नुपर्दछ ।’ त्यस्तै सिइओ राजन कँडेलले भने, ‘सुनौलो भविष्य निर्माणका लागि सर्वसुलभ मुल्यमा गुणस्तरिय शिक्षा अपरिहार्य छ ।

यसका लागि हामीले मेहेनत गर्दै आइरहेका छौं ।’ कार्यक्रममा प्रिन्सिपल माइक ग्रिफफित्स, विशाल भट्टराई, मिनिस्टर काउन्सलर अफ दि एमबेसी अफ नेपाल, ब्रिटिस एजुकेसन ग्रुपका निर्देशक महेन्द्रराज कँडेलको उपस्थिति रहेको थियो । बोर्डका सल्लाहकार डा.खालिद हेनकिरले भने, ‘विद्यार्थीहरू नयाँ भविष्यको लागि तयार छन् भनी सुनिश्चित गर्नको लागि मिडल इस्टमा परिवर्तित र चुस्त व्यवस्थापन तर्फ केन्द्रित छु ।

प्रमुख व्यापारिक हवहरुको नजिक रहेको उलविच इन्स्टिच्युट विद्यार्थीहरुलाई विभिन्न अवसर प्राप्त गर्ने बाटो बन्ने उनले बताए । नलेज भिलेजको केन्द्रमा रहेको क्याम्पस दुवई मिडिया सिटी, दुवई इन्टरनेट सिटी, दुवई मरिना र पाल्म जुमेरियाह नजिक रहेको छ । यहाँ विश्वस्तरिय क्याफेटेरिया र आधुनिक सुविधाहरु छन्, जसलाई विद्यार्थीहरुले सर्वसुलभ मुल्यमा प्राप्त गर्नेछन् ।

ब्रिटिस ग्रुपले विद्यार्थीहरुलाई नेपाल, दुवई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका लागि यी सहरहरुमा सेमिष्टर अनुसार आफुलाई ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्ने भएको हो । सन् २००३ देखि ब्रिटिश एजुकेसन ग्रुप सञ्चालनमा रहेको छ । काठमाडौंको ब्रिटिस कलेजसहित लण्डन र नेपालमा ब्रिटिस एजुकेसन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ ।

नलेज भिलेजमा विश्वका आधा दर्जनभन्दा बढी विश्वविद्यायहरु सञ्चालनमा आएका छन् । त्यस स्थानका विद्यार्थीहरु खेल्ने, मनोरञ्जन गर्ने तथा अतिरिक्त नलेज लिने ठाउँ एउटै व्यवस्था भएको हुँदा उलविचमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि ती सबै युनिभर्सिटीका विद्यार्थीहरुसँग अन्तर्राष्ट्रिय अनुभवको साटफेर हुनबाट लाभान्वित हुने देखिन्छ ।