बेलायतमा हिमालयन सिद्ध महायोग परिवारले यसरी सम्पन्न गर्याे नवरात्र अनुष्ठान, के हो यस्तो ?

लण्डन । बेलायतमा हिमालयन सिद्ध महायोग यूकेको आयोजनामा रेडिंग शहरमा स्थित साधना केन्द्रमा घटस्थापनाबाट नवरात्र अनुष्ठानको शुभारम्भ गरि नवरात्रिको कार्यक्रम दिव्य र भब्य रुपमा सम्पन्न भएको छ ।

हरेक बर्ष आयोजना हुँदै आएको उक्त कार्यक्रम यस पटक भने फरक र विशेष रुपमा सम्पन्न भएको सिद्ध महायोग परिवारका सदस्यहरु बताउंछन् । रेडिंग केन्द्रका संचालक लक्ष्मण श्रेष्ठका अनुसार पहिला वर्षहरुमा नवरात्र मनाउदा आफुले देखेसुनेको चलन अनुसार घटस्थापना गरेर खानपिनमा विशेष जोड दिएर मनाइन्थ्यो तर यसपाली सात्विक भोजन र बिशेष अनुष्ठान सहित शक्तिको आरधना गरेर आफु भित्र आध्यात्मिक चेतनाको विकास र विश्व मानव समाजको कल्याणको कामना गरेर मनाइएको हुनाले फरक भएको हो ।

उनले भने-‘हामीलाई यो विशेष अनुष्ठान सहित नवरात्र मनाउने नयाँ बिधि सम्बन्धि प्रेरणा परमपूज्य सदगुरुदेव अनन्तश्री विभुषित जगतगुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगि सिद्धबाबाको सत्संकल्प र कृपाद्वारा प्राप्त भएको हो।’

हिमालयन सिद्ध महायोगको भातृसंस्था आन्जेनेय यूवा समुहकी अन्तराष्ट्रिय अध्यक्ष, अनुभवी योग प्रशिक्षक, नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिका सुश्री चन्द्रकला सखीको अगुवाइमा विशेष अनुष्ठानका साथ यस नवरात्री कार्यक्रम शुभारम्भ भएको थियो। जगतगुरु महायोगी सिद्धबाबाले प्रदान गर्दै आएको महायोग साधनाकी प्रशिक्षक समेत रहेकी चन्द्रकला सखीले जगतगुरु महायोगी सिद्ध बाबाको विशेष कृपा प्राप्त गरेको बताइन्छ ।

(सुश्री चन्द्रकला सखी-प्रमुख व्याश)
(सुश्री चन्द्रकला सखी-प्रमुख व्याश)

भारतमा योग विज्ञान अध्यनरत उनले ११ बर्षको उमेरदेखि बेदमन्त्र वाचन, रामायण कथा वाचन, भक्तमाल कथा वाचन, रामचरितमानस पारायण पाठ निपूर्णताका साथ गर्दै आएकी छन् । यस वर्षको घटस्थापनाको शुभ मुहूर्तमा चन्द्रकला सखीको अगुवाइमा दशैं जमरा राखेर अनवरत रुपमा ९ दिनसम्म संचालन गरिएको र रामचरितमानसको पाठवाट विधिपूर्वक नवरात्रीको कार्यक्रम सम्पन्न भएको थियो।

(नवह्परायण पाठपछी भन्डारा हुदै-प्रसाद ग्रहण गर्न लाग्दै )
(नवह्परायण पाठपछी भन्डारा हुदै-प्रसाद ग्रहण गर्न लाग्दै )

९ दिनसम्म भएको यो कार्यक्रम भक्त तथा उपासकहरुले नवरात्रीको ब्रत बसेर, रामचरितमानस, रामरक्षा स्तोत्र, हनुमान चालिसा जस्ता ग्रन्थ वा स्तोत्र पाठ गरेर,स्तुति गाएर तथा भजन किर्तन गरेर दिव्य र भव्य रुपमा मनाएका थिए ।

नवदुर्गा उपासनाको क्रममा ९ दिन सम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा अर्चना गरिएको थियो। दर्जनौ नियमित अनुष्ठानिहरु मध्ये सबै नवौ दिनसम्म उपवास बसी, कार्यक्रममा सहभागि भएर पूरा नवहपरायण सम्पन्न भएको थियो भने धेरै साधक तथा भक्तजनहरु आफुलाई अनुकुल पर्ने दिनहरुमा मात्र भए पनि उपस्थित भएर अनुष्ठानमा भाग लिएका थिए।कतिपय साधक साधिकाहरुले स्वयं उपस्थित भै प्रसाद अर्थात भन्डाराको व्यवस्थापन गरेका थिए भने कैयौ भक्तजनहरुले प्रसाद तथा भेटि स्वरुप संस्थालाई आर्थिक दान समेत गरेका थिए। यसको अतिरिक्त जुम प्रविधिबाट जोडिएर पनि कतिपय साधकहरु अनुष्ठानमा सहभागि भएका थिए।

(20 उपव्याशहरु नवह्परायण पाठ गर्दाको एक झलक)
(20 उपव्याशहरु नवह्परायण पाठ गर्दाको एक झलक)

परदेशमा बसेर परदेशकै संस्कार र संस्कृति अनुसारका कार्यक्रममा अभ्यस्त भएको सन्दर्भमा आफ्नो जन्मभूमिको सनातन संस्कृति अनुरुप नवदुर्गा अनुष्ठान गरी सुभारम्भ गरिएको यस प्रकारको कार्यक्रमले नेपालीहरुको आफ्नो पुर्खादेखि चलि आएको रीतिरिवाज तथा संस्कार संस्कृतिको प्रबर्धन गर्नमा सहयोग पुर्याउन सक्ने विश्वास लिइएको आयोजकले जनाएका छन् ।

चन्द्रकला सखीका अनुसार निराहार वा पूर्ण फलाहार गरेर विधिपूर्वक यो ९ दिने अनुष्ठान गर्नाले अध्यात्म तथा कुण्डलिनी शक्तिको जागरणमा समेत सहयोग पुग्ने छ । बिशेष गरी यस नवरात्रमा योग, साधना तथा ध्यान गर्नाले मानिसको स्वभाव तमगुणबाट रजगुण र रजगुणबाट सतगुण तर्फ विकास हुँदै जाने विश्वास छ। सखीका अनुसार युकेवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले युकेमै बसेर यस्तो अत्यन्त महत्वपूर्ण अनुष्ठानमा सहभागी हुन पाउनु नेपालको चतराधाम आश्रमका पीठाधीश रामानन्दचार्य स्वामी जगतगुरु श्री रामकृष्णाचार्य महाराज जी महायोगी सिद्धबाबाका कृपाले प्राप्त भएको हो।

(नव कन्या पुजन हुदै)
(नव कन्या पुजन हुदै)

रेडिंग युकेवाट संचालित यस कार्यक्रममा चन्द्रकला सखीले नवरात्रीभर ९ दिन रामचरितमानसको छन्दबद्ध रुपमा सप्रसंग सुमधुर बाचन गरेकी थिइन्। उक्त नवपरायण रामचरित मानस पाठ गर्दा संसार भरि रहेका सम्पूर्ण सुर,नर,मुनिहरूको सुख,आनन्दको कामना बार बार दोहोर्याउदै देबी भगवती माता संग पुकार गरिएको थियो । (देवी पूजी पद कमल तुम्हारे, सुर नर मुनि सब होही सुखारे) गरी उनले कृष्ण जन्माष्टमीको दिनमा बेलायतको अल्डरसटमा पनि श्रीकृष्ण जन्माष्टमी बारे अद्भुत प्रस्तुति दिइन् ।

यसै गरि सहभागि अनुष्ठान कर्ताहरुले कार्यक्रमले आफ्नो जीवनमा एक नौलो अनुभव थपेको बताउँदै यसरी ब्रत,पुजा र आराधना गर्दा ,अध्यात्ममार्गीहरुको लागी विशेष कृपा प्राप्त हुने विश्वास राखेका थिए । यस कार्यक्रमले आफूहरुमा ऊर्जा थपिएको , भक्तिभाव बढेको आध्यात्मिक बाटोमा अगाडि बढ्न ठुलो प्रेरणा मिलेको समेत उनीहरुले बताए।

आधाघन्टा मात्र पनि पलेटि कसेर बस्न नसक्ने ब्यक्ति अब घन्टौ आनन्दसंग बसेर ध्यान तथा पाठ गर्न सक्ने भएको अनुभवले आफुहरु निकै प्रभावित भएको र भविष्यमा यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्न अति उत्सुक भएको उनीहरुको भनाइ छ ।

(श्रीराम यज्ञमा अनुस्ठानिहरुबाट सामुहिक हवन हुदै)
(श्रीराम यज्ञमा अनुस्ठानिहरुबाट सामुहिक हवन हुदै)

यसको साथसाथै गुरु दाई डा. गोविन्द दाहाल र प्राविधिक र मिडिया संयोजनमा रहेको र अन्य बिभाग हेर्ने सबै साधकहरुको आआफ्नो अथक प्रयास र निरन्तर खटाईले कार्यक्रम सम्पन्न गर्न सबैले पुर्याएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै संस्थाका अध्यक्ष गोबिन्द घिमिरेले आयोजक संस्थाका सबै पदाधिकारिहरु लगायत संयोजक लक्ष्मण श्रेष्ठ तथा सुमित्रा श्रेष्ठप्रति आभार व्यक्त गरेका थिए।

श्रीकृष्णजन्माष्टमी र नवरात्रि कार्यक्रमको सफलताबाट निकै उत्साहित भएको, भविष्यमा सबै चार्डपर्वहरु यसरी नै भव्यताका साथ अझ ठुलो जनसमुहलाई समेटेर खुला मन्च वा आफ्नै विसाल आश्रम भवनबाट कार्यक्रमहरु गर्ने प्रण रहेको र यसमा सदगुरुदेबको अनुपम कृपा सदा आफुमा रहने विश्वास लिइएको हिमालयन सिद्धमहायोग परिवार युके तथा युरोपका पदाधिकारिहरुले बताएका छन् ।

(अनुस्ठानी तथा स्वयमसेवकहरु)
(अनुस्ठानी तथा स्वयमसेवकहरु)

बेलायतमा रहेको पशुपतिनाथ मन्दिर लगायत अन्य विभिन्न संघ संस्थाहरुले पनि यसपटक भव्य र फरक शैलीमा दशैं पर्व मनाएका छन् ।