लण्डन ।प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन् ।
लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन्। ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन्।
भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री देउवा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ।
देउवाले समिटमा विश्वमा तीब्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् । प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ।
को हुन् देउवा ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरामा २००३ सालमा जन्मिएका उनी पाँचौं पटक मुलुकको प्रधानमन्त्री सम्हाल्न पुगेका छन् ।
नेपालमा पञ्चायत विरुद्ध आन्दोलन हुँदा देउवा लण्डनमा थिए । जन-आन्दोलन सफल भएपछि २०४७ सालमा देउवा लण्डनबाट काठमाडौं ओर्लिए । २०४८ को आमचुनावमा देउवाले डडेल्धुराबाट चुनाव जिते ।
कम्युनिष्टको दुई तिहाइ नजिकको केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर देउवा मुलुकको बागडोर सम्हाल्न पुगेका हुन् ।२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्याथी संघमार्फत विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेका देउवा पाँचौँपटक सत्तासिन हुन पुगेका हुन् ।
नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, पार्टी सभापति र पाँचौँपटक प्रधानमन्त्री बनेर देउवा राजनीतिक शिखरमा छन्।






