काठमाडौं । नेपाल आइडल सिजन–१ का फाइनलिष्ट प्रताप दासको सुमधुर आवाजमा सजिएको ‘ढुङ्गा मुढा’ बोलको गीत हालै सार्वजनिक भएको छ । बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ‘ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई, अंकित मल्लको आकर्षक अभिनयले भिडियो उत्कृष्ट बनेको छ ।
नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको आकर्षक स्वरले सजिएको ढुंगा मुढा बोलको गीतको भिडियोमा श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारिक विचलनलाई सचित्र उतारेको छ । स साना असन्तुष्टि अनि महत्वकांक्षाले पारिवारिक जीवनलाई पार्न सक्ने असरलाई गीतको भिडियो मार्फत छर्लङ्ग पार्न खोजेका छन् निर्देशक बुढाथोकीले ।
हालै मात्र रिलिज भएको उक्त गीतको शब्द रचना बिमला हुमागाईले गरेकी छिन् भने मिठासपूर्ण गीतलाई अझै उत्कृष्ट बनाउन संगीत भर्ने तथा एरेन्ज गर्ने काम भने मनोज सेङसन राईले गरेका छन् । कविता तोलाङीको शृङ्गार, मुकेश हुमागाईको छायाँकन रहेको भिडियोको सम्पादन तथा कलरिङ प्रकाश एस के ले गरेका छन् ।
निकै नै मर्मस्पर्शी रहेको ‘ढुङ्गा मुढा’ निकै नै उत्कृष्ट बनेको निर्देशक आदित्य बुढाथोकी बताउँछन् । नेपाली म्युजिक भिडियो मध्ये निकै पृथक बनाउने प्रयास गरेको बुढाथोकी बताउँछन् ।






