तक्दीर अधिकारी
सिड्नी । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सचिव पदमा एनआरएनएको भगिनी संस्था नारी निकुन्ज मार्फत चम्किएकी सन्ध्या शाह निर्वाचित भएकी छन् ।
यसपटक ३१ जुलाईमा भएको निर्वाचनमा उनले सचिव पदमा चुनाव जित्न सफल भएकी हुन् । २००९ मा अष्ट्रेलिया आएकी उनी एनआरएनएको भगिनी संस्था नारी निकुन्जमा सदस्य हुँदै २०१७–१९ मा राज्य परिषद संयोजक जितेकी थिइन् । अघिल्लो २०१९–२१ मा नारी निकुन्जको एनसीसी सदस्य संयोजकको रुपमा नेतृत्व गरिसकेकी उनी अहिले एनआरएनएमै आएकी हुन् ।
एनआरएनएमा उनले जित्दै गर्नुलाई महत्वपूर्ण रुपमा पनि हेरिएको छ । एनआरएनएमा महिला सहभगिता कम भएको कारणले पनि उनको नेतृत्वलाई महत्वपूर्ण मानिएको हो ।
‘नारी निकुन्जबाट एनसीसीमै काम गर्ने इच्छा भयो, त्यसैमाथि एनसीसीमा महिलाहरुको उपस्थिती कम भएको कारणले निर्वाचनमा जाने निर्णय गरेँ ।’ उनले भनिन् ।
आफू काम गर्दै गर्दा पहिलो प्राथमिकता महामारी नियन्त्रण, सहयोग राहत लगायतलाई नै राखिने उनले बताइन् । त्यसपछी एनआरनएनमा युवाहरुको आबद्धता वृद्धि गर्ने, यसलाई संस्थागत रुपमा विकास गर्ने, राजनीतिक दबदबाको अन्त्य गर्ने लगायतमा प्रतिबद्ध रहने उनको भनाई छ ।
यसअघि नारी निकुन्जमा रहँदा उनको संयोजकत्वमा कोभिड प्रभावित नेपालीहरुहरुलाई राहत वितरण गरिएको थियो भने नेपाली संस्थाको तर्फबाट पहिलो पटक अष्ट्रेलियामा भएको आगलागीको समयमा राहत तथा सहयोगमा पनि खटिएका थिए ।
उनले एनआरएनए सँगै आफूले पहिले नेतृत्व गरेको नारी निकुन्जलाई पनि सल्लाहाकारको रुपमा भरपूर सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् ।एनआरएनएलाई सबल र संस्थागत रुपमा विकास गरी अघि बढाउने अभियानमा अघि बढ्ने उनको भनाई छ । उनी नारी निकुन्जबाट एनआरएनए सचिवमा निर्वाचित हुने पहिलो महिला समेत हुन् ।उनी नेपालको बाँके जिल्लाबाट अष्ट्रेलिया आएकी उनी १२ बर्षदेखि यही बस्दै आएकी छिन् ।






