चार्ल्टनमा नेपाली भाषा कक्षाको दोस्रो बर्ष गांठ मनाईय

cake

फडिन्द्र भट्टराई ,

लण्डन |

जुन ८ २०१५ , लन्डन, साउथ ईस्ट लन्डनको चार्ल्टनमा चार्ल्टन नेपाली समाज द्वारा संचालित नेपाली भाषा कक्षा ( लर्न नेपाली प्रोग्राम ) को दोश्रो वर्ष गांठ मनाइएको छ। भाषा कक्षा संचालन भईरहेको स्थानीय फुटवल स्टेडियमको हब सेन्टरमा आयोजित कार्यक्रममा भाषा कक्षाका नानीहरु, स्वयम् सेवक शिक्षक शिक्षिका एबम अभिभावकको बाक्लो उपस्थिति थियो ।

नेपालमा हालैको महा भुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा मौन धारण गरे पश्चात शुरु गरिएको कार्यक्रममा बिद्यार्थी हरुले आकर्षक नाच गान प्रस्तुत गरेर मनोरंजन गराएका थिए । त्यसैगरी कार्यक्रममा नेपालीमा लेखेका कुराहरु आफ्ना नानीहरुले नेपालीमा बाचन गर्दा अविभावकहरु मक्ख देखिन्थे ।
शिक्षिका मंजु खरेलले संचालन गरेको कार्यक्रम मा बिद्यार्थी हरुले नेपाली भाषा सिकाईमा गरेको प्रगति प्रस्तुत गरिएको थियो । लर्न नेपाली प्रोग्रामका संयोजक सुरज केसी , पुर्व संयोजक फत्त थापा तथा चार्ल्टन नेपाली समाजका अध्यक्ष रोम नाथ पाण्डेले मन्तब्य दिदै नया पुस्तामा नेपाली भाषाको ज्ञानको अपरिहार्यता माथि जोड दिदै यसको निरन्तरताको खाँचो औल्याएका थिए ।

धर्म संस्कृति र परम्परा जस्ता कुरा भाषा संगै जोडिएको भन्दै सहभागीहरुले यसको महत्व माथि आपसी छलफल गरेका थिए । कार्यक्रममा स्वयंसेवी एबम शिक्षिका रेनु पाण्डे तथा सिता अर्यालले आफ्ना अध्यापनका अनुभवहरु सुनाएका थिए । कार्यक्रममा उपस्थित सबैले स्वयम् सेवीको रुपमा खट्ने शिक्षकहरुको मुक्तकण्ठले प्रशंशा गरेका थिए ।

नेपाली वर्णहरुले सजाईएको आकर्षक केक काटे पछि केहीबेर बिद्यार्थी हरुलाई सहभागी गराउदै नेपालमा दैवी प्रकोप पछी शान्तिको कामना गर्दै भजन कृतन समेत गरिएको थियो । नेपालको महाबिपद पछी खासै हर्ष उल्लाश को अवस्था नभएकोले पनि कार्यक्रम ठुलो रुपमा नमनाईएको कुरा चार्ल्टन नेपाली समाजका सचिव टी एन रिजालले बताए ।

दुई बर्ष अघि चार्ल्टन नेपाली समाजले शुरु गरेको लर्न नेपाली प्रोग्राम उदाहरणिय बने पछी बेलायतका अन्य ठाउमा पनि यसको सफल अनुशरण गरिएको छ।