तक्दीर अधिकारी ।
मेलवर्न । एनआरएनए अष्ट्रेलियाको ११ औं साधारणसभा सम्पन्न भएको छ । भिक्टोरियाको थर्नबरीमा आइतवार एक कार्यक्रमकावीच संस्थाका विगतका कार्य विवरणसहित आगामी योजनाहरुको बारेमा व्यापक छलफल भएको थियो ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले संस्थाको बार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाहरु सुनाएका थिए । उनले नेपालमा डलर खाता खोल्नको निम्ती एनएमबी बैंकसँग छलफल गरिएको, संस्थाको लेखा व्यवस्थापन गर्नको निम्ती कर्मचारी नियुक्त गरिएको, नेपालमा लगानी भित्राउनको निम्ती पहल गरिएको, विभिन्न मानसिक विमारको शिकार भएका नेपालीहरुलाई उद्धार तथा सहजीकरण गरिएको, अष्ट्रेलियाका हरेक राज्यमा नेपाली कम्युनिटी सेन्टर खोल्न पहल गरिएको लगायतका प्रगति विवरण सार्वजनिक गरे ।
त्यसैगरी आगामी परियोजनाको रुपमा ‘एनआरएनए ए्याप’ सार्वजनिक गर्न लागिएको, हरेक राज्यमा कम्युनिटी सेन्टर बनाउने अभियान तिव्र बनाउने, एनआरएनए अष्ट्रेलिया अन्तराष्ट्रिय अवार्ड प्रदान गर्ने, सिड्नीमा कार्यालय स्थापना गर्ने, विद्यार्थीहरुसँग अन्तर्क्रिया, एनआरएनए लगानी कम्पनीको स्थापना, एनआरएनए खेलकुद कोष, अष्ट्रेलियाका विभिन्न तहका सरकार, विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर डोनेशन ल्याउन पहल गर्ने, एनआरएनए राष्ट्रिय कार्यसमितिमा पनि मानार्थ सदस्यता वितरण गर्ने लगायतका योजनाहरु सार्वजनिक गरे ।
उक्त अवसरमा अघिल्लो साधारणसभाले गरेका निर्णयहरुलाई अनुमोदन गरिएको थियो । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले गत आर्थिक बर्षको खर्च विवरण सार्वजनिक गर्दै त्यससम्बन्धमा उठेका विभिन्न प्रश्नहरुबारे प्रष्ट पारेका थिए । उपस्थित व्यक्तिहरुले एनआरएनएका विभिन्न विषयमा प्रश्न गरेका थिए भने नेतृत्व तहका व्यक्तिहरुले ती जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।

एनआरएनए महासचिव राजु अधिकारी र सचिब सन्ध्या शाहले उक्त कार्यक्रम सञ्चालन गरेका थिए भने प्रत्यक्ष मात्र नभएर भर्चुअल रुपमा पनि कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका नेता तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा उपस्थित एनआरएनएका सदस्यहरुले कार्यक्रममा प्रस्तुत भएका विषयबारे विभिन्न प्रश्नहरु गरेका थिए । उक्त अवसरमा सदस्यहरुले उठाएका प्रश्नहरुको एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, महासचिव र सचिव तथा अन्य कार्यसमितिमा रहेका पदाधिकारीहरुले दिएका थिए ।
उक्त अवसरमा एनआरएनए भिक्टोरियाको मुख्य आयोजना तथा विभिन्न संघसंस्था तथा व्यावसायहरुको सहयोगमा शनिवार सम्पन्न भएको नेपाली पर्व मेलवर्नको पनि समीक्षा गरिएको थियो ।











