लण्डन । चार्ल्स तृतीय बेलायतको नयाँ राजा घोषित भएका छन् ।
बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार ९६ वर्षको उमेरमा स्कटल्याण्डमा निधन भए लगत्तै उनका ज्येष्ठ सुपुत्र ७३ वर्षीय राजकुमार चार्ल्स राजा बनेका थिए । उनलाई शनिबार बसेको एक्सेसन काउन्सिलको बैठकले औपचारिक रुपमा बेलायतको राजा घोषणा गरेको हो ।
शनिबार बिहान सेन्ट जेम्स दरबारमा दुई चरणमा आयोजित काउन्सिलको बैठकबाट औपचारिक रुपमा राजा घोषणा गरिएको छ । त्यहाँ आयोजित कार्यक्रममा नयाँ राजा चार्ल्स तृतीयले सपथ समेत गर्नुभएको छ भने एक्सेसन काउन्सिलका अध्यक्ष पेन्नी मोर्डन्टले नयाँ राजाको नियुक्तिसँगै संशोधन गर्नुपर्ने आवश्यक प्रावधानहरुको घोषणा गरेकी थिइन् भने नयाँ घोषणामा राजा चार्ल्स तृतीयले हस्ताक्षर गरी औपचारिकता प्रदान गरेका थिए ।
सो बैठकमा राजकुमार विलियम र क्वीन कन्सोर्ट कमिला साथै प्रधानमन्त्री लिज ट्रस, पूर्व प्रधानमन्त्रीहरु जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेभिड क्यामरोन, टेरेजा मे, बोरिस जोन्सन लगायत काउन्सिलका सदस्यहरुको उपस्थिति रहेको थियो।
नयाँ राजा घोषणा भएको अवसरमा अहिले लण्डनको हाइड पार्क, टावर अफ लण्डन लगायतका क्षेत्रमा तोप पड्काइ बढाइ गरिँदै छ ।
बेलायतको इतिहासमा पहिलोपटक नयाँ राजा घोषणाको सबै प्रक्रियाहरु टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।






