बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद

नवलपुर । नवलपरासी पुर्वको जिल्ला अदालतले अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको छ । २५ हजार जरिवानाको सजाय पनि भएको छ ।

अदालतले बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको छ । न्यायाधीश यत्रप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश पनि दिएको छ ।

अदालतले बालिकाका अभिभावकलाई सचेत पनि गराएको जिल्ला अदालतले जनाएको छ । उनीविरुद्ध नवलपुर र तनहुँमा मुद्दा परेको छ । तनहुँ जिल्ला अदालतले चैत १० गते शाहलाई थुनामा पठाउन आदेश दिएको थियो ।

नावालिकामाथि जवर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध फागुन ११ गते मुद्दा दायर भएको थियो । फागुन १५ गते उनले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि बलात्कार मुद्दामा १२ देखि १४ वर्ष कैद सजायको माग गरिए थियो । तर अदालतले त्यसमा सफाइ दिएको हो ।