लमजुङ। लमजुङका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा बल्ल नागरिकता प्राप्त गरेका छन् । लमजुङको मध्यनेपाल नगरपालिका-२ तान्द्राङ टक्सारका गुरुङले जिल्ला प्रशाशन कार्यालय लमजुङबाट नागरिकता प्राप्त गरेका हुन् ।
एकचालीस वर्षीय कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गरेपछि प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए । नागरिकताका बारेमा ज्ञानको अभाव भएका वृद्धले नागरिकता नबनाएको र अहिले ढिलै भए पनि नागरिकता प्राप्त गरेको उनको भनाइ छ ।
‘हाम्रो पालामा नागरिकता चाहिने थिएन । नागरिकता नभए पनि भर्ती भइयो । पेन्सन पनि लिइरहेकै छु । अहिले छोराछोरीले नागरिकता बनाउन भनेपछि बनाउन आएँ’ उनले भने ‘नागरिकता भन्ने कस्तो हुन्छ थाहा थिएन । आज देख्न पाइयो । अचम्म पनि लाग्यो । खुसी पनि लाग्यो ।’
बेलायती सेनाबाट सेवा निवृत्त गुरुङ वि.सं. १९८२ चैत ५ गते जन्मिएका थिए । उनी सन् १९४८ मा कुनै पनि कागजातबिना बेलायती सेनामा भर्ती भएका थिए ।
बेलायती सेनामा भर्ती भएपश्चात् मलेसिया र सिङ्गापुरमा १५ वर्ष सेवा गरी निवृत्त भएपछि आफ्नै घर फर्किए । उनी करिब ४० वर्षदेखि घरमै बस्दै आएका छन् । दुई छोरालाई अंश दिने कुरामा समस्या आएपछि बल्ल नागरिकता बनाएको उनले बताए । यतिका वर्षपछि नागरिकता पाउँदा उनी दङ्ग परेका छन् ।
कृष्णबहादुरकी श्रीमती विजयामा गुरुङको नागरिकता भने बनिसकेको थियो । कृष्णबहादुर पति कायम गरी नागरिकता बनेकाले छोराछोरीको नागरिकता पनि बनिसकेको छ । गुरुङकी श्रीमतीको २० वर्षअघि निधन भइसकेको परिवारले जनाएको छ ।






