देउवालाई प्रधानमन्त्री हुने बाटो खुला, एमालेले संसद अवरोध नगर्ने

काठमाडौं– मंगलबार संसद अवरुद्ध नहुने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ । सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।

सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारको संसद बैठक अवरोध नगर्ने बताएको हो ।

बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिए ।

सत्तारुढ दल नेपाली काङ्ग्रेस र एमालेले चार बुँदे प्रतिबद्धता जनाएपछि शीर्ष दलबीच संसद खोल्ने सहमति भएको हो ।

बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ ।

एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।