दाङ । जुत्ता पसल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका- ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।
बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।






