दोस्रो कार्यकाल निरन्तरता दिने घलेको घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले दोस्रो कार्यकाल निरन्तरता दिने घोषणा गरे । यूरोप भ्रमणमा रहेका अध्यक्ष घलेले बेलायत पुगेर हिजो साथीभाइको भावना समेट्न आफूले दोस्रो कार्यकाललाई निरन्तरता दिने निर्णय गरेको बताएका थिए । उनले भने, ‘एनआरएनको जन्म भएको मुलुक बेलायत आएपछि साथीभाइको आग्रहलाई नकार्न सकिन, दोस्रो कार्यकाललाई निरन्तरता दिने सगौरव घोषणा गर्दछु ।’ त्यसअघि अध्यक्ष घलेलाई नेपाली जनसम्पर्क मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडा, जनसम्पर्क समितिका यूकेका विश्वआर्दश पण्डित र एनआरएन यूके पूर्वअध्यक्ष कुल आचार्यले घलेलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिन प्रस्ताव गरेका थिए ।

12033215_10204959489935824_6124930626629237776_n
गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा अध्यक्ष घलेले दोस्रो कार्यकालका लागि निरन्तरता दिने घोषणा गरेका हुन् । उनले दोस्रो कार्यकाललाई निरन्तरता दिने घोषणा गर्दा समर्थनमा हुटिङ भएको थियो भने झण्डै दस मिनेटसम्म तालिले हल गुञ्जयमान बनेको थियो । दुई सयभन्दा बढी नेपाली समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा आफूले घोषणा गरेको कार्यक्रम पूरा गर्न दुई वर्ष अपुग  भएको, एनआरएनलाई थप उचाइ दिन र साथीभाइको भावना समेट्न दोस्रो कार्यकाललाई निरन्तरता दिने निर्णय लिएको उनले बताए । भूकम्प पीडितका लागि एनआरएनले एक हजार घर बनाइदिने घोषणा गरेको थियो । सम्भव भए यही अक्टुबरमा भूकम्प पीडितका लागि  एनआरएनले बनाइदिने घरको सिलन्यास गर्ने जानकारी अध्यक्ष घलेले दिएका थिए ।
देश संविधान निर्माणमा जुटेकाले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणका लागि प्राधिकरण गठनमा ढिलाई भएको घलेले बताए । प्राधिकरण गठन नहुँदा पुनर्निमाण कार्य रोकिएको अध्यक्ष घलेले गुनासो गरेका थिए । ढिलै भए पनि व्यवस्थापिका संसदले प्राधिकरण गठनको विधेयक पास गरेको र त्यसलाई एनआरएनले स्वागत गर्ने बताए ।
आउँदो अक्टुबरमा एनआरएनको छैटौं विश्व सम्मेलन आयोजना हुँदैछ । उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि एनआरएन उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतन झाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्ष घलेले दोस्रो कार्यकाललाई निरन्तरता दिने घोषणासँग पदाधिकारीका लागि जोड घटाउ सुरु भएको विश्लेषण गरिएको छ ।
कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणका लागि तमुधि यूकेले एक करोड ११ लाख रुपैयाँ दिने घोषणा गरिको थियो ।