सिड्नी । अस्ट्रेलियाको मेलवर्न सहरमा आयोजना हुन लागेको ‘नेपाल फेस्टिबल मेलवर्न २०२२’ को तैयारी अन्तिम चरणमा पुगेको छ ।
सेप्टेम्बर १० तारिखमा फेडरेशन स्क्वायरमा हुने कार्यक्रमको झण्डै ९० प्रतिशत तैयारी सम्पन्न भईसकेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्य परिषद सयोंजक हरि खड्काले जनाएका छन् ।नेपाली मौलिक कला संस्कृतिको प्रवद्र्धन सगैं नेपाली संस्कृति झल्काउने गरी प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको कार्यक्रमको आन्तरिक तैयारीसगैं अतिथिहरुको निमन्त्रणा, नेपाली कलाकारहरुलाई सहभागी गराउने लगायतका अन्य आवश्यक सम्पूणर् तैयारी लगभग अन्तिम चरणमा पुगेको खड्काले जानकारी दिए ।

नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु नेपाल फेस्टिवल आयोजना गर्नुका मूख्य उद्देश्य रहेको उनले बताए ।
नेपाल फेस्टिवल सम्पन्न गर्न नेपाली अवैतनिक महावाणिज्य दुतका कार्यालयहरु, क्यानबेरा स्थित नेपाली दूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसास्कृतिक विभाग, नेपाली संघसंस्थाहरुले सहकार्य गरेका छन् ।
प्रत्येक २ वर्षमा आयोजना हुने फेस्टिबल एनआरएनएको १९-२१ को कार्यकालमा कोरोना महामारीका कारण हुन सकेको थिएन । नेपाल फेस्टिवल २०२२ मेलबर्न’ अर्थात यस वर्षको नारा सेलिबे्रटिङ्ग कल्चर, इम्ब्र्यसिंग डाइभर सिटि’ अर्थात् ’संस्कृतिको खुसीयाली मनाऔं, विविधतालाई अंगालौं’ भन्ने रहेको छ । फेस्टिवलमा बहुसांस्कृतिक प्रस्तुतिहरु, नेपाली सांस्कृतिक प्रस्तुतिहरु, प्रत्यक्ष सांगीतिक प्रस्तुति, नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल रहनेछन् ।
नेपाल र नेपाली संस्कृति, कला, भेषभुषा, तथा नेपाली खानाका परिकारहरुलाई प्रचार गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम सम्पन्न गर्ने चुनौतीका बाबजुद पनि अघिल्लो पटक भन्दा झनै भव्य रुपमा कार्यक्रम गर्न लागिएको उनले बताए ।
कार्यक्रममा नेपाली झाँकीहरुको साथ नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । नेपाल फेस्टिबल मेलवर्नकी मिडिया सयोंजक निरु त्रिपाठीका अनुसार कार्यविभाजन गरि कार्यक्रम सम्पन्न गर्न विभिन्न समिति र उपसमिति बनाएर दिएको जिम्मेवारी अनुसार सबैले आफ्नो तैयारी पुरा गरेका छन् । अतिथि र कलाकारहरुको विषयमा अहिलेसम्म बद्री पगेंनी कार्यक्रममा सहभागी हुने पक्का भएको र अन्यको पनि अन्तिम टुगों लाग्ने क्रम सँगै सम्पूर्ण तैयारी पुरा भएको र मात्र केबल सेप्टेम्बर १० को प्रतिक्षामा रहेको उनले बताईन् ।
२००८ बाट मेलवर्नमा फेस्टिबलको आयोजना गरिँदै आएको छ । फेस्टिबल सम्पन्न गर्न नेपाली सघंसंस्थाका प्रतिनिधि सम्मिलित ५१ जनाको मुल आयोजक समिति विभिन्न व्यक्तित्वहरु सम्मिलित प्रचार प्रसार तथा सुझाव सल्लाह समिति लगायत अन्य विभिन्न २१ वटा उपसमिति बनाईएको छ ।

कार्यक्रम सम्पन्न गर्न ब्लुबेरी रियलस्टेटले टाईटल स्पोन्सरको रुपमा साथ दिएको छ भने फेस्टिबल सञ्चालन गर्न अन्य नेपाली व्यापार व्यवसायहरुले प्रायोजन गरेका छन् । कार्यक्रममा भिक्टोरियन मेयर लगायत मन्त्रीहरु र अन्य माननीयहरु सहित विभिन्न व्यक्तिहरुको उपस्थिति अपेक्ष्या गरीएको छ।

मेलवर्न सबै ठाउँका लागि केन्द्र पर्ने भएकाले उल्लेख्य दर्शकको उपस्थित हुने आयोजकले अनुमान गरेको छ । अन्य ठाउँमा पनि भएका नेपाल फेस्टिबलका आयोजकहरुको अनुभव समेत आदान प्रदान गरेर उत्कृष्ट कार्यक्रम गर्ने कोशिस गरिएको बताए ।
एनआरएनए संस्था रहेका देशहरु मध्येमा नेपाल फेस्टिवलको आयोजना गर्ने अष्ट्रेलिया पहिलो देश हो । अष्ट्रेलियामा एनआरएनएको राष्ट्रिय समिति (एनसीसी) अर्थात् एनआरएनए अष्ट्रेलियाको स्थापना सन् २००५ मा मन केसीको अध्यक्षतामा भएको थियो । केसीको अध्यक्षतामा रहेको कार्यसमितिले त्यसको अर्को वर्ष अर्थात् २००६ को अप्रिल महिनामा सिड्नीमा अष्ट्रेलियाव्यापी बृहत नेपाल फेस्टिवलको आयोजना गरेको थियो ।
नेपाल फेस्टिवललाई एनआरएनए अष्ट्रेलियाको एउटा ऐतिहासिक कार्यक्रमको रुपमा लिने गरिन्छ । त्यसपछि नेपाल फेस्टिवल हरेक दुई वर्षमा आयोजना गरिँदै आएको छ । अष्ट्रेलियाका विभिन्न सहरहरुमा फेस्टिबल आयोजना गरिदै आएको छ ।






