अनेसासले तास्मानियामा विस्तार गर्यो नयाँ च्याप्टर

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाले आफ्नो नयाँ च्याप्टर तास्मानियामा विस्तार गरेको छ ।

नेपाली भाषा र साहित्यको सेवामा समर्पित अनेसासले तास्मानियामा रहेका साहित्यप्रेमी तथा लेखकहरुलाई एक ठाउँ ल्याउने उद्धेश्य सहित नयाँ च्याप्टरको सुरुवात गरेको हो ।

नवगठित समितिको  तास्मानिया अध्यक्षमा प्रकाश पन्थी, उपाध्यक्षमा गायत्री पाण्डेय, सचिवमा सुरेन्द्र खरेल (सुबिन) र कोषाध्यक्षमा सरोज तामाङ तथा सदस्यहरूमा तोयाराज भट्टराई, विजय भट्टराई र अस्मिका श्रेष्ठ लगायत रहेका छन् ।

२०२० बाटै च्याप्टर गठन गर्ने प्रक्रिया अगाडी बढेपनि २०२२ अगष्ट २० शनिवारबाट औपचारिक रुपमा सुरुवात भएको अनेसास उपाध्यक्ष (ओसिआनिया) महेश्वर शर्माले वताए  ।

समितिले संगठन विस्तार पश्चात अनेसास तास्मानियाको पहिलो कार्यक्रमको रुपमा साहित्यकार सुबिन खरेलको पहिलो उपन्यास फेरिएको मायाको विमोचन समेत गरिएको छ । कार्यक्रममा उपन्यासकार खरेल प्रति बधाईँ दिँदै नवगठित समितलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

१५ वर्ष नेपाल बसेका तास्मानीयका स्थानीय नागरिक जेनेट र केशब भट्टराईले पुस्तकको सयुंक्त रुपमा विमोचन गरेका थिए। उक्त अवसरमा नेपालबाट आएका  अभिभावक राम प्रसाद चिमोरियाले शुभकामना तथा धन्यवाद मन्तव्य दिएका थिए ।

कार्यक्रममा अनेसासका अध्यक्ष प्रकाश पन्थीले संस्थाले गर्ने कामहरु र नेपाली साहित्यको प्रवद्र्धनमा गरिरहेका कार्यहरुका विषयमा स्पष्ट पारेका थिए ।

त्यसपश्चात अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उपस्थित महानुभावहरुले विभिन्न प्रश्नहरु गरेका थिए । कार्यक्रमको सञ्चालन सागर भण्डारीले गरेका थिए ।