सिड्नी । वोयरियर्स तेक्वान्दो मार्शल आर्ट्स एन्ड फिटनेसको आयोजनामा अन्तरक्लब तेक्वान्दो प्रतियोगिता तथा बाल मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आगामी नोभेम्बर ३० तारिखमा म्याक्वारी फिल्ड्सस्थित मैक्वारी फिल्ड्स इनडोर स्पोर्ट्स सेन्टरमा आयोजना हुने भएको छ। सन् २०१८ देखि प्रत्येक वर्ष खेलकुदमार्फत युवा विकास र समुदायिक सहभागिता बढाउँदै आएको यो संस्थाले यसपटक करिब १०० जना बालबालिकाहरुलाई प्रतिस्पर्धात्मक वातावरणमा तेक्वान्दो सीप प्रदर्शन गराउने जनाएको छ। कार्यक्रमका प्रमुख संयोजक तथा फिटनेस निर्देशक प्रकाश क्षेत्रीका अनुसार “यस वर्षको कार्यक्रममा खेलकुदसँगसंगै बाल मानसिक स्वास्थ्यलाई पनि महत्वपूर्ण रूपमा प्रस्तुत गरिनेछ,” ।
कार्यक्रममा अष्ट्रेलिया तेक्वान्दो न्यु साउथ वेल्सका अध्यक्ष ग्रान्डमास्टर डा. बिल्लाल एल्मोवी, मास्टर बेनी लाम्पासी, न्यु साउथ वेल्स राज्य संयोजक उषा किरन बरिया , कोषाध्यक्ष अनन्त गुरुङ, पोखरा समाजका अध्यक्ष तारा गुरुङ, तथा पूर्व नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरू विशेष अतिथिका रूपमा सहभागी रहनेछन्। प्रतियोगितामा सहभागी युवाहरुले आफ्ना सीप, अनुशासन र प्रतिबद्धताको प्रदर्शन गर्ने बताएका छन्। क्षेत्रीका अनुसार खेलकुदसँगसँगै “आफ्ना भावनालाई नियन्त्रित गर्न, आत्मबल विकास गर्न र स्वस्थ जीवनशैली अपनाउन” मानसिक स्वास्थ्य कार्यक्रमले सन्देश दिनेछ।
कार्यक्रम ACM Global Education and Migration तथा NOVA Community Care को प्रायोजनमा आयोजना हुन लागेको हो। यो प्रतियोगिता संस्था द्वारा सञ्चालन गरिएको नियमित वार्षिक गतिविधि अन्तर्गतको अर्को महत्वपूर्ण चरण हो। अघिल्लो वर्षहरूमा जस्तै यसपटक पनि स्थानीय समुदाय, अभिभावक, खेलप्रेमी तथा सञ्चारकर्मीहरुको विशेष उपस्थितिपूर्ण सहभागिता हुने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ। नेपाली समुदायलाई तेक्वान्दो खेलमा आकर्षित गर्नका लागि प्रकाश क्षेत्री लामो समयदेखि सक्रिय रहँदै आएका छन्।






