झापा । झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत अवस्थामा भेटिएका हुन् ।
घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए । प्रहरीका अनुसार दुईजना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
झुन्डिएको अवस्थामा भेटिएकाहरुमा कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना छन् ।
स्थानीयबासीले उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट हराएको बताएका छन् । उनीहरूलाई आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरी बोलाएका थिए ।
ती किशोरी चिया बगानमा काम गर्ने मजदुर थिए । प्रहरीले उनीहरुको मृत्युको कारण खुलिनसकेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर शव उठाइरहेको छ ।






