अन्तरराष्ट्रिय नेपाली साहित्य यूकेको अध्यक्षमा राज श्रेष्ठ- १३ सदस्यीय नयां कार्यसमिति चयन

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले २०९ औँ भानुजयन्ती तथा ९१ औँ ईश्वर जयन्ती वुलविच लण्डनस्थित डायमन्ड बुद्धिस्ट सेन्टरमा आइतबार सम्पन्न गरेको छ ।

च्याप्टरकी अध्यक्ष लक्ष्मी थापा राई (लारा)को अध्यक्षता वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीको प्रमुख आतिथ्यता एवम् रोयल बारो ग्रीनविचमा भर्खरै काउन्सिलर पदमा निर्वाचित जित रानाभाटको विशेष आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि र विशेष अतिथिबाट द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । सहभागीहरु सबैले आदिकवि भानुभक्त आचार्य र बेलायती डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरका फोटोहरुमा पुष्प अर्पण गरी श्रद्धासुमन चढाएका थिए ।

आदिकवि भानुभक्त आचार्यको जीवनीबारे संस्थाका निवर्तमान अध्यक्ष तथा अनेसासका केन्द्रीय सल्लाहकार सुमलुकमार गुरुङले प्रकाश पारेका थिए भने ईश्वर प्रसाद मानन्धरको बारेमा र सुप्रमा (सुन्दरप्रसाद मानन्धर) ईप्रमा (ईश्वरप्रसाद मानन्धर) साहित्यिक पुरस्कार बारे संस्थाका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष, डा. रुपक श्रेष्ठले प्रकाश पारेका थिए ।

कार्यक्रमको बीच बीचमा सहभागीहरुले कविता वाचन गरि सुनाएका थिए । वरिष्ठ नाट्यकर्मी सनमकुमार वैरागबाट ईश्वर मानन्धरको कृतिमा आधारित चलचित्र ‘कैदीको पत्र’बारेमा छोटो टिजर ट्रेलर प्रस्तुत गरिएको थियो । यस वर्षको अनेसास बेलायतबाट प्रदान गरिने सुप्रमा ईप्रमा साहित्यिक पुरस्कार माया गुरुङको कृति ‘जिन्दगी’ कविता सङ्ग्रहलाई प्रदान गरिएको छ । बेलायतका सर्जकहरुको कृतिहरुलाई सम्मान गर्दै आएको मानन्धर परिवारबाट प्रायोजित साहित्यिक पुरस्कारको राशी २५१ पाउण्ड तथा प्रशंसापत्रद्वारा सम्मानित गरिने यो पुरस्कारको दशौँ श्रृङ्खला हो ।

प्रमुख अतिथिको बाहुलीबाट माया गुरुङलाई पुरस्कार राशी तथा प्रशंसापत्र प्रदान गरिएको थियो । माया गुरुङको कृतिबारे समीक्षात्मक टिप्पणी केन्द्रीय सल्लाहकार तथा संस्थाका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङले गरेका थिए ।
कार्यक्रममा रचना वाचन गर्ने सर्जकहरुमा क्रमश डा. रविन्द्र गुरुङ, राज श्रेष्ठ, भोजराज बराल, सचिन गुरुङ, माया गुरुङ, डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र लक्ष्मी थापा राई (लारा) थिए । अध्यक्षबाट सबैलाई धन्यवाद ज्ञापन गरी प्रथम चरणको कार्यक्रम समापन गरी मध्यान्तर गरिएको थियो ।

दोश्रो सत्रमा संस्थाको सातौँ कार्यकारी समितिको कार्यअवधि समाप्त भएकोले डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र खगेन्द्र नेपालीको रोहबरमा राज श्रेष्ठको नेतृत्वमा कार्यकारी समितिमा सदस्यहरु थप्न मिल्ने गरी १२ सदस्यीय कार्यकारी समितिको चयन भएको छ ।

अध्यक्ष, राज श्रेष्ठ, उपाध्यक्ष माया गुरुङ, महासचिव मन्जु भण्डारी, सचिव राधा सापकोटा, कोषाध्यक्ष सचिन गुरुङ, सहकोषाध्यक्ष प्रतिमा केसी र सदस्यहरुमा क्रमश कुमार केसी, डा. रविन्द्र गुरुङ, मदन पौडेल, लय प्रसाई, रविन जोशी, सारादेवी गुरुङ र अर्चना गुरुङ निर्वाचित भएका छन् । अन्त्यमा वरिष्ठ सन्चारकर्मी, नेपाली साहित्य विकाश परिषद युकेका अध्यक्ष खगेन्द्र नेपालीद्वारा नवनिर्वाचित ८औँ कार्यकारी समितिलाई शपथ ग्रहण गरेका थिए । नवनिर्वाचित अध्यक्ष, राज श्रेष्ठको छोटो सम्बोधनपछि कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव मञ्जु भण्डारीले गरेकी थिईन् ।