लण्डन ।
लण्डन स्थित नेपाली राजदूतावासले भर्चुअल रुपमा नेपाल विकास सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलनमा नेपाल तथा आयरल्याण्डमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । आयरल्याण्ड तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा युरोपेली संघको इरास्मस कार्यक्रमको अन्तर्राष्ट्रिय शिक्षा विभागका प्रमुख जेरी ओ सुलिभानले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । 
राजदूत डा. सुवेदीले प्रवासमा रहेका नेपाली विज्ञहरुसँग रहेको सीप, क्षमता र अनुभव नेपालको विकासमा उपयोगी हुने भन्दै नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ब्रेन गेन सेन्टरसँग आवद्ध हुन प्रवासी नेपालीहरुलाई अनुरोध गरे । जेरी ओ सुलिभानले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यको महत्व अझ बढी हुने बताउंदै आगामी दिनमा नेपाली विद्यार्थीहरुलाइ स्वागत गर्न आयरल्याण्ड तयार रहेको बताइन् ।
सम्मेलनमा सेन्टर फर आइ रिसर्च आयरल्याण्डमा कार्यरत डा. नबीन पौडेलले बालबालिकाको दृष्टि क्षमता सम्बन्धी, वाग्मती प्रदेशका प्रदेश सचिव डा. हरि लम्साल, काठमाण्डौ विश्वविद्यालय शिक्षा शंकायका प्राध्यापक श्री लक्ष्मण ज्ञवाली एवं आयरल्याण्डको स्कुल अफ अप्लाइड ल्याङग्वेज एन्ड इन्टरकल्चरल स्टडिज मा विद्यावारिधी गरिरहेका सगुन श्रेष्ठले शिक्षा तथा सिकाईसम्बन्धी कार्यृपत्र प्रस्तुत गरे । त्यस्तै आयरल्याण्डको युरोफाइन्स बायोफार्मा प्रोडक्ट टेस्टिङ आयरल्याण्ड लिमिटेडमा कार्यरत डा. केशव मल्ल एवं नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत सृजन पोखरेलले कृषि क्षेत्रसम्बन्धी तथा गलवे नेशनल यूनिभर्सिटी अफ आयरल्याण्डमा कार्यरत डा. योगेश आचार्यले कोभिड १९ सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरेका थिए । नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
यस सम्मेलन आयोजनाका लागि स्कुल अफ अप्लाइड ल्याङग्वेज एन्ड इन्टरकल्चरल स्टडिजमा विद्यावारिधी गरिरहेका सगुन श्रेष्ठ, एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा पूर्व संरक्षक नवराज कोइराला कलगायत आयरल्याण्डमा रहेका नेपालीहरुले सहयोग गरेका थिए ।






