तक्दीर अधिकारी, मेलबर्न – कोरोना भाइरसको संक्रमण लगातार बढेपछि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गर्दै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ ।
आइतवार साँझ ६ बजेबाट उक्त घोषणा लागु भएको छ । सरकारद्वारा घोषणा गरिएको यो कडा नियमले मेलबर्नमा रहेका ५० हजार बढी नेपालीसमेत प्रत्यक्ष प्रभावित बनेका छन् ।
अष्ट्रेलियाका अन्य राज्यहरुमा भाइरस संक्रमण कम भइरहेको भए पनि भिक्टोरियामा करिब एक महिनादेखि पुनः ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित देखिएका छन् । आइतबार पत्रकार सम्मेलनमा प्रिमियर ड्यानियल एन्ड्रुजले बढिरहेको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चस्तरको लकडाउन घोषणा गर्नुपरेको सुनाए ।
उनले मेलबर्नलगायतका सहरी क्षेत्रमा चौथो चरण अन्तर्गतको पूर्ण लकडाउन र ग्रामीण क्षेत्रमा लेभल–३ अन्तर्गतको लकडाउन घोषणा गरिएको जानकारी दिए ।
उनले अत्यावश्यकबाहेक आफ्नो घर क्षेत्रभन्दा ५ किलोमिटर टाढा यात्रा गर्न प्रतिबन्ध लगाएका छन् भने सम्पूर्ण शैक्षिक संस्थामा अनलाइन अध्यापन सुरु हुने भएको छ । उनले संक्रमणको स्रोत पत्ता लगाउन नसकिएका करिब ७ सय केसहरु रहेको भन्दै यसलाई थप फैलन नदिनसमेत यो निर्णय आवश्यक भएको बताएका छन् ।
३५ नेपाली संक्रमित
मेलबर्नमा रहेका ३५ भन्दा बढी नेपालीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको गैरआवसीय नेपाली संघका उपाध्यक्ष तथा भिक्टोरिया राज्य परिषदका संयोजक प्रेम कंडेलले जानकारी दिए ।
‘यो कडा लकडाउन हुँदा निकै समस्या भएको छ’ उनले भने ‘यसबाट नेपालीहरु विशेष गरी विद्यार्थी बढी प्रभावित बनेका छन्, शपिँग गर्न पनि जान दिइएको छैन, हामीसँग सम्पर्कमा आएका नेपालीहरुलाइ हामी सहयोग अभियानमा पनि अघि बढेका छौ ।
यस अघि पनि गैरआवासीय नेपाली सँघको तर्फबाट कोरोना भाइरसबाट समस्यामा परेको यहाँ स्थित नेपालीहरुलाइ सहयोग अभियान पनि सञ्चालन छिट्टै गरिने उनले बताए ।
‘विद्यार्थीहरुलाइ अझ बढी प्रभावित बनेका छन्, उनीहरुको लागि केही न केही सहयोग नगरे सम्म हुँदैन’ कंडेलले भने । उनका अनुसार समस्यामा परेकाहरुले एनआरएनए को वेभसाइट मार्फत फारम भरेर पनि सहयोग लिन सकिने ब्यबस्था मिलाउन लागिएको छ ।
घर भन्दा बाहिर निस्कने काम नगर्न र बाहिर निष्केको खण्डमा १० हजार डलर सम्म फाइन उठाएको कारण सचेत रहन उनले आग्रह गरे । आपतमा परेकाहरुलाइ सबै खालको सहयोग गरिने उनले जानकारी दिए । बजारमा सरसामान किन्न पनि परिवारका एक जना मात्रलाइ जान दिइएको उनले बताए ।
मेलबर्नमा ११ हजार ५ सय ५७ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । भने गत २४ घण्टामा मात्रै ६२६ नया संक्रमित थपिएका छन् । यस क्षेत्रमा १२३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी अष्ट्रेलियामा १७ हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० हजार ४ सय २० जना निको भएका छन् । त्यसैगरी २०८ जनाको मृत्यु भईसकेको छ ।






